सत्ताको स्वाद नचाखेका मधु आचार्य, कांग्रेस पार्टीसत्ताको केन्द्रमा

यस्तो छ मधु आचार्यको उपसभापतिसम्मको यात्रा

काठमाडौं । मधु आचार्य नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट लोकप्रिय मतसहित उपसभापतिमा निर्वाचित भएका छन् ।

उनको राजनीतिक यात्रालाई बुझ्न उनको विद्यार्थी जीवन र काभ्रेपलाञ्चोकको जिल्ला राजनीतिसम्म फर्किनुपर्छ । 

सिभिल इन्जिनियरिङमा स्नातक तथा समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेका आचार्य प्राविधिक र सामाजिक अध्ययनको पृष्ठभूमि भएका नेता हुन् ।

उनको राजनीतिक सक्रियता विद्यार्थी आन्दोलनसँग जोडिएको छ । २०३५ सालको विद्यार्थी आन्दोलनका क्रममा हिरासतमा परेका आचार्यले २०४६ सालको जनआन्दोलन र २०६२/६३ को दोस्रो जनआन्दोलनमा पनि सहभागिता जनाएका थिए । 

पञ्चायती व्यवस्थाविरुद्धको संघर्षदेखि बहुदलीय व्यवस्था पुनःस्थापनापछिको पार्टी राजनीतिसम्म उनको यात्रा फैलिएको छ ।

आचार्यको राजनीतिक पहिचान निर्माणमा काभ्रे कांग्रेसको संगठनात्मक नेतृत्वले महत्त्वपूर्ण भूमिका खेलेको बताउँछन् स्थानीय नेताहरू ।

जिल्ला सभापतिको जिम्मेवारीमा रहँदा उनले स्थानीय तहको पार्टी संरचना र कार्यकर्तासँग प्रत्यक्ष सम्बन्ध राख्ने अवसर पाए । जिल्ला राजनीतिमा स्थापित हुनु र केन्द्रीय नेतृत्वमा प्रभाव जमाउनु फरक कुरा भएपनि आचार्यको यात्रामा यी दुई तहबीचको सम्बन्ध महत्त्वपूर्ण देखिन्छ ।

पार्टी सत्तामा लामो समयदेखिका बागी नेता आचार्य राजकिय सत्ताको स्वादबाट पनि वेखबर नेता हुन् । आचार्य २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी काभ्रे–२ बाट प्रतिस्पर्धामा उत्रिएका थिए । 

संसदीय निर्वाचनमा सफलता हात नपरे पनि पार्टी संगठन र नीतिगत काममा उनको सक्रियता जारी रह्यो । उनले कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाले ।

राजनीतिक दलका लागि नीति अनुसन्धान र प्रशिक्षण प्रायः संगठनात्मक गतिविधिको छायामा पर्ने क्षेत्र हुन् । तर पार्टीको घोषणापत्र, सार्वजनिक नीति, राजनीतिक दृष्टिकोण र कार्यकर्ताको वैचारिक प्रशिक्षण निर्माणमा यिनको महत्व हुने भएकोले आचार्यको पृष्ठभूमिलाई यही पक्षबाट पनि मूल्यांकन गर्न सकिन्छ ।

गगन थापासँगको निकटता र पार्टीभित्रको नेतृत्व परिवर्तनको अभियानमा सक्रियताले उनलाई नयाँ नेतृत्वको महत्त्वपूर्ण पात्र बनाएको छ । तर उनको राजनीतिक मूल्यांकनलाई थापासँगको सम्बन्धमा मात्र सीमित गर्नु उचित हुँदैन ।

जिल्ला संगठनमा गरेको काम र नीतिगत जिम्मेवारीमा पुर्याएको योगदान पनि त्यसका आधार हुन् जसले आचार्यलाई पार्टी उपसभापति तहमा पुर्याएको छ ।

उपसभापतिको जिम्मेवारीले अब आचार्यलाई अर्को परीक्षामा उभ्याएको छ । 

जिल्ला तहको अनुभवलाई केन्द्रीय संगठनमा कसरी उपयोग गर्ने, पार्टीका निर्णयलाई नीतिगत आधार कसरी दिने र नेतृत्व परिवर्तनपछि देखिन सक्ने आन्तरिक असन्तुष्टिलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न उनको कार्यकालसँग जोडिनेछन् ।

Share News