काठमाडौं । चीनको केन्द्रीय बैंकले लगातार २३ महिनादेखि सुन खरिद गरिरहेको छ । यससँगै चीनले अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणमा सुन आयात गरेको छ ।
चीनले यसरी आक्रामक तरिकाले सुन खरिद गर्नुको पछाडि अमेरिकी डलरमाथिको निर्भरता घटाउने बेइजिङको रणनीति प्रमुख कारण हो । अर्कोतर्फ चिनियाँ नागरिकसँग लगानीका सुरक्षित विकल्प सीमित हुनु पनि सुनको माग बढ्नुको कारण हो ।
विश्लेषकहरूका अनुसार आर्थिक सुस्ततासँग जुधिरहेको चीनमा आगामी दिनमा पनि सुनको माग उच्च रहने सम्भावना छ ।
चीनको विदेशी मुद्रा विनिमय प्रशासन (एसएएफई) को तथ्यांकअनुसार पिपुल्स बैंक अफ चाइना (पीबीओसी) ले सेप्टेम्बरमा करिब २३ टन सुन थपेको छ । यो झन्डै तीन वर्षयताकै सबैभन्दा ठूलो मासिक खरिद हो । यससँगै चीनको केन्द्रीय बैंकले कम्तीमा सन् २०१५ यताकै सबैभन्दा लामो लगातार सुन खरिद गर्ने क्रमलाई निरन्तरता दिएको छ ।
चिनियाँ घरपरिवार र कम्पनीहरूले सुनलाई सुरक्षित लगानीको माध्यमका रूपमा रोज्न थालेका छन् । भन्सार विभागको तथ्यांकअनुसार सन् २०२६ को पहिलो आठ महिनामा चीनले १ हजार टनभन्दा बढी सुन आयात गरेको छ । यसका लागि उसले कीर्तिमानी १ खर्ब ५८ अर्ब ८० करोड अमेरिकी डलर खर्च गरेको छ ।
यो परिमाण सन् २०२५ को पूरै वर्षमा भएको आयातभन्दा बढी हो । सन् २०२५ मा चीनले ९६ अर्ब ५० करोड डलर खर्चेर ८८६ टन सुन आयात गरेको थियो ।
स्टेट स्ट्रिट इन्भेस्टमेन्ट म्यानेजमेन्टका सुन रणनीति प्रमुख आकाश दोषीका अनुसार यस वर्षको पहिलो आठ महिनामा चीनको उपभोग प्रयोजनका लागि हुने सुन आयातले नयाँ कीर्तिमान बनाएको छ ।
चीनको घरेलु बजारमा अन्तर्राष्ट्रिय मूल्यको तुलनामा सुनको मूल्यमा देखिएको अतिरिक्त बढोत्तरीले जाडोयाममा माग अझ बलियो हुनसक्ने दोषीले बताएका छन् ।
चीनले ठूलो परिमाणमा सुन सञ्चय गरिरहँदा अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेको छ । जनवरीमा प्रतिऔंस ५ हजार ५०० डलरभन्दा माथि पुगेर कीर्तिमान बनाएको सुनको मूल्य सेप्टेम्बरमा ८ प्रतिशतभन्दा बढी घटेर करिब ४ हजार १७६ डलरमा झरेको थियो ।
यद्यपि, दोषीले बलियो मागका कारण सन् २०२७ को पहिलो त्रैमासिकको अन्त्यसम्ममा सुनको मूल्य प्रतिट्रय औंस ४ हजार ७५० देखि ५ हजार ५०० डलरसम्म पुग्ने अनुमान गरेका छन् ।
धेरै सुन किन्नुको कारण ?
जुलियस बेयर समूहका विश्लेषक कार्स्टेन मेन्केका अनुसार चीनको केन्द्रीय बैंकले सुन खरिद गर्नुको मुख्य कारण राजनीतिक हो ।
उनका अनुसार अमेरिकाले डलरलाई राजनीतिक तथा आर्थिक दबाब सिर्जना गर्ने हतियारका रूपमा प्रयोग गर्न सक्ने जोखिमका कारण चीन अमेरिकी सरकारी ऋणपत्रमाथिको निर्भरता घटाउन चाहन्छ ।
सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा मुलुकहरूले रुसी केन्द्रीय बैंकको विदेशमा रहेको सम्पत्ति रोक्का गरेका थिए । उक्त घटनाले भूराजनीतिक तनावका बेला विदेशमा राखिएको सञ्चित सम्पत्तिमा पहुँच प्रतिबन्धित हुन सक्ने जोखिम छर्लङ्ग देखाएको थियो ।
तर, कुनै देशले आफ्नै भण्डारमा राखेको सुन यस्तो प्रतिबन्धबाट तुलनात्मक रूपमा सुरक्षित रहन्छ ।
यसैकारण चीनले अमेरिकी सरकारी ऋणपत्रमा गरेको लगानी घटाउँदै लगेको छ । अमेरिकी अर्थ मन्त्रालयको तथ्यांकअनुसार जुलाईमा चीनसँग रहेको अमेरिकी सरकारी ऋणपत्रको मूल्य घटेर ६१८ अर्ब डलरमा झरेको थियो । यो १८ वर्षयताकै न्यून स्तर हो ।
बेइजिङले आफ्नो विदेशी मुद्रा सञ्चितिलाई विविधिकरण गर्ने रणनीतिअन्तर्गत अमेरिकी ऋणपत्रमाथिको निर्भरता घटाइरहेको हो ।
अर्कोतर्फ आर्थिक अनिश्चितताका कारण चिनियाँ नागरिकले पनि सुनलाई सुरक्षित लगानीका रूपमा हेर्न थालेका छन् । उनीहरूले सुनका गरगहना, बिस्कुट र सिक्कामा लगानी बढाइरहेका छन् ।
चीनमा लगानीका वैकल्पिक अवसर सीमित छन् । कुनै समय चिनियाँ घरपरिवारको सम्पत्ति सञ्चय गर्ने प्रमुख माध्यम रहेको घरजग्गा बजार लामो समयदेखि मन्दीमा छ ।
चीनको प्रमुख सेयर सूचकांक सीएसआई ३०० यस वर्ष करिब ८ प्रतिशत घटेको छ । यसको विपरीत अमेरिकी सेयर बजारको एसएन्डपी ५०० सूचकांक १३ प्रतिशत बढेको छ । त्यसैगरी, कर्जाको माग कमजोर हुँदा बैंक निक्षेप र ऋणपत्रबाट प्राप्त हुने प्रतिफल पनि घटेको छ ।
चीनको एकवर्षे सरकारी ऋणपत्रको प्रतिफल करिब १.२ प्रतिशतमा झरेको छ । अमेरिकामा भने यस्तो प्रतिफल करिब ४.४६ प्रतिशत छ ।
साक्सो बैंकका वस्तु बजार रणनीति प्रमुख ओले हान्सेनका अनुसार पश्चिमा मुलुकहरूको तुलनामा चीनमा सुन राख्दा अन्य लगानीबाट प्राप्त हुनसक्ने प्रतिफल गुमाउनुपर्ने लागत निकै कम छ ।
यसको अर्थ चीनमा बैंक निक्षेप वा ऋणपत्रको प्रतिफल न्यून भएकाले ब्याज नदिने सुनमा लगानी गर्दा तुलनात्मक रूपमा कम अवसर गुम्छ ।
मेन्केका अनुसार चीनले घरेलु सुन बजारलाई थप व्यापक र विकसित बनाउने योजना अघि सारेको छ । यही योजनाका कारण पनि सुनको भण्डार बढाउन उसले खरिद तीव्र पारेको हो ।
उनको अनुमानअनुसार अगस्टको अन्त्यसम्ममा चीनको केन्द्रीय बैंकले यस वर्ष करिब १९० टन सुन खरिद गरेको थियो । यसमध्ये करिब ११० टन सुनको खरिद आधिकारिक तथ्यांकमा सार्वजनिक गरिएको थिएन ।
सुनको मूल्यलाई चीनको मागले दिएको आड
चीनमा सुनको बढ्दो मागले अन्तर्राष्ट्रिय बजारमा यसको मूल्यलाई ठूलो गिरावटबाट जोगाउन सहयोग गरेको विश्लेषकहरू बताउँछन् ।
अमेरिकामा सरकारी ऋणपत्रको प्रतिफल उच्च रहँदा ब्याज नदिने सुनप्रतिको आकर्षण सामान्यतया घट्ने गर्छ । प्रायः ब्याजदर बढ्दा सुनको मूल्य घट्ने प्रवृत्ति हुन्छ ।
तर, चीनको निरन्तर खरिदले सुनको मूल्यमा पर्ने यस्तो दबाबलाई केही हदसम्म कम गरेको छ ।
आईएनजी बैंककी वस्तु बजार रणनीतिकार इवा मान्थेका अनुसार चिनियाँ खरिद सुनको मूल्यलाई दीर्घकालीन रूपमा आड दिने महत्त्वपूर्ण आधार बनेको छ ।
उनले केन्द्रीय बैंकहरूले सामान्य लगानीकर्ताको तुलनामा दीर्घकालीन उद्देश्यका लागि सुन खरिद गर्ने भएकाले मूल्यको उतारचढावप्रति कम संवेदनशील हुने बताइन् ।
मेन्केले पनि यही धारणा व्यक्त गरेका छन् । उनका अनुसार ब्याजदरसम्बन्धी अपेक्षा र सरकारी ऋणपत्रको प्रतिफल उल्लेखनीय रूपमा बढे पनि सुनको मूल्य गर्मीयामको स्तरभन्दा माथि नै टिकेको छ ।
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले सन् २०२६ मा थप एकपटक ब्याजदर बढाउन सक्ने संकेत गरेको छ ।
विश्व स्वर्ण परिषद्का अनुसार अगस्टसम्ममा चीनसँग २ हजार ३८७ टन सुन सञ्चिति थियो । चीन विश्वमा पाँचौं ठूलो सुन सञ्चिति भएको देश हो । यद्यपि, उसको सञ्चिति अमेरिकासँग रहेको सुनको एकतिहाइभन्दा पनि कम छ ।
सुनको माग कहिले घट्न सक्छ ?
विश्लेषकहरूका अनुसार चीनको घरजग्गा र सेयर बजारप्रति लगानीकर्ताको विश्वास पुनः बढेमा सुनको माग कमजोर हुन सक्छ ।
साक्सो बैंकका हान्सेनका अनुसार चिनियाँ मुद्रा युआन कमजोर भएमा घरेलु बजारमा सुन महँगो पर्छ । यसले पनि माग घटाउन सक्छ ।
त्यसैगरी, ब्याजदर बढेर बैंक निक्षेपबाट आकर्षक प्रतिफल प्राप्त हुन थालेमा लगानीकर्ता सुनबाट अन्य वित्तीय साधनतर्फ आकर्षित हुन सक्छन् ।
तर, सुन बजारमा ठूलो परिवर्तन आउन केन्द्रीय बैंकहरूले विदेशी मुद्रा सञ्चितिलाई विविधिकरण गर्ने रणनीतिप्रतिको रुचि घट्नुपर्ने र विश्वव्यापी भू-राजनीतिक तनाव कम हुनुपर्ने हान्सेनको भनाइ छ ।
उनका अनुसार तत्काल यी दुवै अवस्था सिर्जना हुने सम्भावना देखिँदैन ।
यसको अर्थ चीनको निरन्तर खरिद र केन्द्रीय बैंकहरूको सुन सञ्चिति बढाउने रणनीतिले आगामी दिनमा पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यलाई आड दिइरहने सम्भावना छ । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)
पश्चिमी प्रतिबन्धपछि हङकङमा रुसी सुनको बाढी
स्वीस घडी बजारमा रोलेक्सको एकछत्र राज