काठमाडौं । सार्वजनिक यातायातमा ठूला विद्युतीय बसमार्फत आफ्नो छुट्टै पहिचान बनाएको साझा यातायातले अब साना सवारीसाधनमार्फत पनि सेवा विस्तार गर्ने भएको छ । साँघुरा सडक, गल्ली तथा ठूला बस पुग्न नसक्ने क्षेत्रमा सार्वजनिक यातायातको पहुँच बढाउने उद्देश्यसहित साझाले १६ सिट क्षमताका पाँचवटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
ठूला बस सञ्चालन गर्दै आएको साझाले माइक्रोबसतर्फ हात बढाउनुको उद्देश्य केवल सवारीसाधन थप्नु मात्र होइन, सार्वजनिक यातायातको पहुँच विस्तार गर्नु र पर्यटकीय क्षेत्रसम्म यात्रुको आवागमन सहज बनाउनु पनि हो । विशेषगरी ललितपुर महानगरपालिकासँगको सहकार्यमा ऐतिहासिक तथा पर्यटकीय स्थललाई लक्षित गरेर यो सेवा सञ्चालन गर्न लागिएको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्याल बताउँछन् ।
उनका अनुसार काठमाडौं उपत्यकाको सडक संरचना सबै ठाउँमा ठूला बस सञ्चालन गर्न अनुकूल छैन । कतिपय स्थानमा साँघुरा सडक र गल्लीका कारण ठूला सवारीसाधन पुग्न नसक्दा सर्वसाधारणले साझा यातायातको सेवा लिन पाएका छैनन् । यही अवस्थालाई ध्यानमा राखेर साना विद्युतीय सवारीसाधन सञ्चालन गर्ने योजना बनाइएको हो ।
‘हाम्रा उपत्यकाका सबै ठाउँमा ठूला सवारीसाधन सम्भव छैनन् । कतिपय साँघुरा गल्लीमा सार्वजनिक यातायातको सेवा पुर्याउन सकिएको छैन,’ अर्यालले विकासन्युसँगको कुराकानीमा भने, ‘त्यही कुरालाई मध्यनजर गरेर ललितपुर महानगरपालिकासँगको सहकार्यमा पर्यटकीय क्षेत्र लक्षित माइक्रोबस सेवा सञ्चालन गर्न लागेका हौं ।’
ललितपुरका ऐतिहासिक स्थल जोड्दै ५ वटा माइक्रोबस
साझाले ल्याएका पाँचवटै माइक्रोबस विद्युतीय हुनेछन् । यी माइक्रोबसहरू चिनियाँ ब्रान्ड किङलङका हुन् । जसमा प्रत्येकमा १६ सिट क्षमता रहेको छ । नेपालका लागि किङलङको आधिकारिक विक्रेता सिजी मोटर्सले साझा यातायातलाई यी बसहरू हस्तान्तरण गरेको हो । १६ सिट क्षमताका यी सवारीसाधनलाई ललितपुरका ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र जोड्ने गरी सञ्चालन गर्ने योजना छ । प्रस्तावित रुटमा ललितपुरको लगनखेल, मंगलबजार, पाटन सुन्धारा, महाबौद्ध, कुमारीपाटी र जावलाखेललगायतका क्षेत्र समेटिनेछन् । प्रारम्भिक योजनाअनुसार ललितपुरको लभिङ मलबाट सुरु भएर विभिन्न ऐतिहासिक तथा पर्यटकीय क्षेत्र हुँदै पुनः सोही स्थानमा फर्किने गरी सेवा सञ्चालन गर्ने तयारी छ ।

यी माइक्रोबसको सञ्चालन विधि, रुट तथा अन्य व्यवस्थापनसम्बन्धी विषयमा साझाले ललितपुर महानगरपालिकासँग छलफल गरिरहेको छ । सेवा सञ्चालनको औपचारिक मिति भने तय भइसकेको छैन । अर्यालका अनुसार सम्भव भएसम्म दशैंअघि नै सेवा सुरु गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि आवश्यक तयारी भइरहेको भए पनि निश्चित मिति भने तय गर्न बाँकी छ ।
‘हामी दशैंअघि नै सेवा सञ्चालन गर्ने प्रयासमा छौं । रुट र सञ्चालनको मोडालिटीबारे ललितपुर महानगरपालिकासँग छलफल भइरहेको छ,’ उनले भने ।
माइक्रोबस सञ्चालनमा आएपछि विशेषगरी पर्यटकलाई ललितपुरका विभिन्न ऐतिहासिक स्थलसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ । यसले स्थानीय बासिन्दालाई समेत सार्वजनिक यातायातको विकल्प उपलब्ध गराउनेछ ।
पर्यटकलाई निःशुल्क सेवा दिने प्रस्ताव
साझा यातायातले नयाँ माइक्रोबस सेवा सञ्चालनमा ल्याउँदा पर्यटकलाई निःशुल्क सेवा दिने विकल्पमा समेत छलफल गरिरहेको छ । ललितपुर महानगरपालिकाका तर्फबाट विशेषगरी बाह्य पर्यटकलाई निःशुल्क सेवा उपलब्ध गराउने धारणा आएको अर्यालले बताए ।
त्यसैगरी, अपाङ्गता भएका परिचयपत्र प्राप्त व्यक्ति, ९० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक तथा १० वर्षमुनिका बालबालिकालाई लक्षित गरेर सेवा सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको छ । यद्यपि, सेवा निःशुल्क हुने वा निश्चित रकम अनुदानका रूपमा उपलब्ध गराइने भन्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन । महानगरपालिका र साझाबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएपछि मात्रै सेवा सञ्चालनको विस्तृत मोडालिटी सार्वजनिक गरिने अर्यालले बताए ।
यसरी सेवा सञ्चालन भएमा सार्वजनिक यातायातलाई पर्यटन प्रवर्द्धनसँग जोड्ने प्रयासका रूपमा पनि यसलाई लिन सकिनेछ । पर्यटकीय क्षेत्र घुम्न चाहने यात्रुले सहज रूपमा आवागमन गर्न पाउने र साँघुरा सडक भएका स्थानमा पनि सार्वजनिक यातायातको पहुँच विस्तार हुने अपेक्षा छ ।
ठूला बससँगै साना सवारीमा पनि विद्युतीय प्रविधि
साझाले सञ्चालन गर्न लागेका माइक्रोबस विद्युतीय सवारीसाधन हुन् । यी सवारीसाधन आपूर्ति गर्ने प्रक्रियामा सीजीले बोलपत्रमार्फत सहभागिता जनाएको अर्यालले जानकारी दिए । साझाले यसअघि पनि विद्युतीय ठूला ४० बस सञ्चालन गर्दै आएको छ । अब माइक्रोबस थपिएसँगै संस्थाले फरक क्षमताका सवारीसाधनमार्फत यात्रुको आवश्यकताअनुसार सेवा विस्तार गर्न खोजेको देखिन्छ ।
विद्युतीय सवारीसाधनको सञ्चालन खर्च डिजेलबाट चल्ने सवारीसाधनको तुलनामा कम हुने अर्यालको भनाइ छ । तर, विद्युतीय सवारीसाधन खरिदको प्रारम्भिक लागत भने बढी हुन्छ । उनका अनुसार सामान्य अवस्थामा करिब ८० देखि ९० लाख रुपैयाँ वा एक करोड रुपैयाँसम्ममा आउने सवारीसाधनको तुलनामा ठूला विद्युतीय बस खरिद गर्दा डेढ करोडदेखि दुई करोड रुपैयाँभन्दा बढी, कतिपय अवस्थामा दुईदेखि साढे दुई करोड रुपैयाँसम्म खर्च लाग्न सक्छ । बसको लम्बाइ, क्षमता र प्राविधिक विशेषताअनुसार मूल्य फरक पर्ने उनले बताए ।
‘विद्युतीय बसको सञ्चालन खर्च डिजेलको तुलनामा निकै कम हुन्छ । तर, खरिद लागत बढी हुन्छ । चार्जिङ पूर्वाधार र चार्ज गर्न लाग्ने समय पनि महत्त्वपूर्ण विषय हुन्,’ अर्यालले विकासन्युजसँग भने ।
विद्युतीय बस सञ्चालनमा चार्जिङ पूर्वाधार पर्याप्त नहुँदा समस्या हुन सक्ने उनको भनाइ छ । यात्रु बोकेर चल्ने बसलाई लामो समय चार्जिङमा राख्नुपर्ने अवस्था आएमा त्यसले सेवा व्यवस्थापनमा असर पार्न सक्छ । त्यसैले विद्युतीय सवारीसाधन सञ्चालन गर्दा आर्थिक फाइदासँगै प्राविधिक पक्ष र पूर्वाधारको अवस्थालाई पनि ध्यान दिनुपर्ने उनी बताउँछन् ।
१०० वटा विद्युतीय बस ल्याउने योजना फेरि अघि बढाउने तयारी
साझा यातायातको योजना ५ वटा माइक्रोबसमा मात्र सीमित छैन । नेपाल सरकारले चीनको अनुदानमा साझा यातायातलाई उपलब्ध गराउने घोषणा गरेका १०० वटा विद्युतीय बस ल्याउने प्रक्रिया फेरि अघि बढाउने तयारी भइरहेको अर्यालले बताए । सरकारको आर्थिक वर्ष २०८/२८३ को बजेट वक्तव्यमा चीनको अनुदानमा साझालाई १०० वटा बस उपलब्ध गराउने विषय समेटिएको थियो । अर्यालका अनुसार त्यसका लागि विभिन्न मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयसँग आवश्यक समन्वय भएको थियो । बसको प्राविधिक स्पेसिफिकेसनसमेत चीनतर्फ पठाइसकिएको थियो ।
साझाको तयारीअनुसार ती बस दशैंको आसपास नेपाल आइपुग्ने र दशैं-तिहारको बीचमा उद्घाटन गर्ने योजना थियो । त्यसका लागि काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागको पुरानो ट्रली बससम्बन्धी कार्यालय परिसरमा रहेको करिब १४ रोपनी जग्गा सफाइ गर्ने कामसमेत अघि बढाइएको थियो । तर, जेनजी आन्दोलनपछि उक्त प्रक्रिया रोकिएको अर्यालले बताए ।
‘१०० वटा बस आउने विषय धेरै अगाडि बढिसकेको थियो । हामीले चीनलाई प्राविधिक स्पेसिफिकेसनसमेत पठाइसकेका थियौं । तर, जेनजी आन्दोलनपछि त्यो प्रक्रिया होल्डमा रह्यो,’ उनले भने ।
उनका अनुसार पछिल्लो समय सरकारसँग पुनः यस विषयमा छलफल सुरु भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका मन्त्रीसँग समेत अनौपचारिक कुराकानी भएको र अब औपचारिक पत्राचारमार्फत प्रक्रिया अघि बढाउने प्रयास भइरहेको उनले बताए ।

यद्यपि, चीन सरकार र नेपाल सरकारबीच औपचारिक संवाद तथा आवश्यक प्रक्रिया पूरा नभएसम्म बस आउने निश्चित भइसकेको छैन । साझाको अपेक्षाअनुसार १०० वटा विद्युतीय बस सञ्चालनमा आएमा काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सेवा विस्तार गर्न सहयोग पुग्नेछ । यसले विद्युतीय सार्वजनिक यातायातको पहुँच बढाउनुका साथै प्रदूषण न्यूनीकरणमा पनि योगदान पुर्याउन सक्नेछ ।
उपत्यकाबाहिर पनि सेवा विस्तार गर्ने योजना
साझाले काठमाडौं उपत्यकामा मात्रै नभई अन्य सहरमा समेत सार्वजनिक यातायात सेवा विस्तार गर्ने योजना अघि सारेको छ । यसै योजनाअन्तर्गत ५० वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउन लागिएको अर्यालले जानकारी दिए । यी बस काठमाडौं उपत्यकाभन्दा बाहिरका सहरमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । यसका लागि अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामा जानुपर्ने भएकाले खरिद र आपूर्तिमा समय लाग्ने उनको भनाइ छ । अनुमानित आठदेखि नौ महिनाभित्र बस ल्याउने गरी प्रक्रिया अघि बढाउने तयारी छ ।
साझाले यी बसलाई सामान्य सहरभित्रको छोटो दूरीको सेवाभन्दा पनि उपत्यकाबाहिरका सहर तथा अन्तरसहरी यातायातमा उपयोग गर्ने सोच बनाएको छ । यसबाट देशका अन्य सहरका नागरिकले पनि साझा यातायातको सेवा उपयोग गर्न पाउने अपेक्षा गरिएको छ । यससँगै वीरगञ्ज महानगरपालिका र जितपुरसिमरा उपमहानगरपालिकासँग पनि सम्भाव्यता अध्ययन तथा सहकार्यका विषयमा छलफल भएको अर्यालले बताए । स्थानीय तहसँगको सहकार्यमा आवश्यक अध्ययन गरेर सेवा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए ।
‘साझाको सेवा काठमाडौं उपत्यकामा मात्रै सीमित नराखेर बाहिरका सहरमा पनि विस्तार गर्ने योजना छ । वीरगञ्ज र जितपुरसिमराका जनप्रतिनिधिसँग छलफल भएको छ । सम्भाव्यता अध्ययनपछि सहकार्यको प्रक्रिया अघि बढाउन सकिन्छ,’ उनले भने ।
रिङरोड र भक्तपुरमा ठूला बस
१०० वटा बस ल्याउने योजना अघि बढेमा तीमध्ये अधिकांश काठमाडौं उपत्यकामा सञ्चालन गर्ने सोच साझाको छ । अर्यालका अनुसार करिब १० देखि १५ वटा बस उपत्यकाबाहिर सञ्चालन गर्ने सम्भावनाबारे पनि सोचिएको छ । त्यसैगरी, यात्रुको चाप बढी हुने र ठूला बस सञ्चालन गर्न सकिने सडकमा आर्टिकुलेटेड बस चलाउने सम्भावनाबारे पनि साझाले अध्ययन गरिरहेको छ ।
दुई वा सोभन्दा बढी भाग जोडिएको यस्तो बसले एकैपटक ठूलो संख्यामा यात्रु बोक्न सक्छ । विशेषगरी रिङरोड तथा भक्तपुरको सल्लाघारी वा जगातीसम्म यस्ता बस सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन गर्ने सोच रहेको अर्यालले बताए ।

यद्यपि, कुन रुटमा कस्तो क्षमताको बस उपयुक्त हुन्छ भन्ने विषयमा सम्भाव्यता अध्ययन गर्नुपर्ने उनको भनाइ छ । साझाले यसअघि सेवा नपुगेको भक्तपुरसम्म पनि आफ्नो सेवा विस्तार गरेको छ । त्यस्तै, रात्रिकालीन सार्वजनिक यातायात सेवा पनि सञ्चालनमा ल्याएको छ ।
रात्रिकालीन सेवामा यात्रु बढाउने चुनौती
साझाले रात्रिकालीन सार्वजनिक यातायात सेवा पनि सञ्चालन गरिरहेको छ । भदौ १ गतेदेखि सुरु भएको उक्त सेवामा यात्रुको सहभागिता बढाउन भने प्रचारप्रसार आवश्यक रहेको अर्यालले बताए । उनका अनुसार सेवा सुरु भए पनि धेरै यात्रुलाई रात्रिकालीन बस सञ्चालन भइरहेको जानकारी पुग्न बाँकी छ । दशैं-तिहारपछि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसारलाई तीव्र बनाउने योजना रहेको उनले जानकारी दिए ।
रातको समयमा सार्वजनिक यातायात उपलब्ध हुँदा कामको सिलसिलामा ढिलोसम्म बाहिर रहने व्यक्ति, यात्रु तथा अन्य सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ । तर, सेवा प्रभावकारी बनाउन यात्रुको आवश्यकता, रुट, समयतालिका र प्रचारप्रसारमा ध्यान दिनुपर्ने देखिन्छ ।

डिजिटल टिकटिङमा भुक्तानीका विभिन्न विकल्प
साझा यातायातले सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउने प्रयासअन्तर्गत डिजिटल टिकटिङ र विद्युतीय भुक्तानी प्रणालीलाई पनि अघि बढाएको छ । अर्यालका अनुसार साझाका बसमा अनलाइन प्रणाली, क्यूआर कोड, खल्ती र ई-सेवालगायतका माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था तयार भइसकेको छ ।
तर, सबै यात्रु डिजिटल भुक्तानी प्रणालीमा अभ्यस्त भइनसकेकाले यसको प्रभावकारी प्रयोग बढाउनुपर्ने आवश्यकता छ । डिजिटल भुक्तानीसँगै सवारीसाधनको निगरानी, जीपीएस तथा सुरक्षासम्बन्धी प्रविधिलाई पनि प्राथमिकतामा राखिएको उनले बताए ।
सार्वजनिक यातायातमा डिजिटल प्रविधिको प्रयोग बढ्दा टिकट भुक्तानी सहज बनाउने, नगद कारोबारमा निर्भरता घटाउने र सेवा व्यवस्थापनलाई व्यवस्थित बनाउने अपेक्षा गर्न सकिन्छ ।
पुराना डिजेल बसलाई विद्युतीय बनाउने अध्ययन
साझाले पुराना पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधनलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्ने सम्भावनाबारे पनि अध्ययन गरिरहेको छ । यस विषयमा थप सहकार्य गरेर काम अघि बढाउने प्रयास भइरहेको भए पनि अहिलेसम्म अन्तिम निर्णय भइसकेको छैन । अर्यालका अनुसार साझा यस विषयमा अघि बढ्न तयार छ, तर त्यसका लागि आवश्यक अध्ययन र सहकार्यको प्रक्रिया टुङ्गिन बाँकी छ ।
पुराना सवारीसाधनलाई विद्युतीय बनाउने योजना कार्यान्वयनमा आएमा नयाँ सवारीसाधन खरिदको विकल्पका रूपमा त्यसको सम्भाव्यता परीक्षण गर्न सकिनेछ । तर, रूपान्तरणको लागत, प्राविधिक अवस्था, ब्याट्री तथा चार्जिङ प्रणालीको उपयुक्तता र सञ्चालन क्षमताबारे अध्ययन आवश्यक हुनेछ । साझा यातायातले ठूला विद्युतीय बस, रात्रीकालीन सेवा, डिजिटल टिकटिङ, उपत्यकाबाहिर सेवा विस्तार र पुराना सवारीसाधनलाई विद्युतीय बनाउने अध्ययनलाई सँगसँगै अघि बढाउन खोजेको छ ।
