काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पार्टीको सर्वोच्च नेतृत्व चयन गर्ने महाधिवेशन आफैमा महत्त्वपूर्ण राजनीतिक प्रक्रिया हो । तर अहिले कांग्रेसमा यस्तो दृश्य देखिएको छ, जहाँ एउटै पार्टीका दुई समूह महाधिवेशनको दुई फरक खुड्किलामा उभिएका छन् ।
एउटा समूह केन्द्रीय नेतृत्व छान्न काठमाडौंमा मतदानमा जुटेको छ भने अर्को समूह त्यही नेतृत्व छान्ने प्रतिनिधि चयन गर्न क्षेत्रीय अधिवेशनमा व्यस्त छ ।
एक समूहका नेताहरू सभापति चयनका लागि मतपेटिकामा मत खसालिरहेका बेला अर्को समूह भने ती प्रतिनिधि छान्न क्षेत्रीय निर्वाचनको प्रक्रियामा रहेका छन् ।
कांग्रेसको एउटा समूहमा नेतृत्व चयनको प्रतिस्पर्धा चलिरहँदा अर्को समूहमा नेतृत्व चयन गर्ने अधिकार पाउने प्रतिनिधि छान्ने प्रतिस्पर्धा चलिरहेको हो ।
राजनीतिक विश्लेषकहरू राजनीतिक दृष्टिले यो दृश्य असामान्य मात्र नभई कांग्रेसभित्रको सांगठनिक र वैधानिक संकटको प्रतिबिम्ब पनि रहेको बताउँछन् ।
एउटै पार्टीको नाम, झन्डा र राजनीतिक विरासत बोकेका दुई समूहले अलग अलग महाधिवेशनको बाटो समातेपछि कांग्रेसको आन्तरिक लोकतन्त्र अहिले दुई समानान्तर प्रक्रियामा विभाजित भएको छ ।
एकातिर मतदान, अर्कोतिर प्रतिनिधि चयन
गगन थापा नेतृत्वको कांग्रेसले असोज १८ देखि काठमाडौंमा १५औं महाधिवेशनको प्रक्रिया अघि बढाएको छ । अहिले महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार प्रतिनिधिहरू नयाँ केन्द्रीय नेतृत्व चयन गर्न मतदानमा सहभागी भइरहेका छन् ।
अर्कोतिर पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नै महाधिवेशन गर्ने भन्दै संगठनका तल्ला तहबाट निर्वाचन प्रक्रिया अघि बढाएको छ । कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार वडा र पालिका अधिवेशनपछि असोज २३ आज प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने कार्यक्रम चलिरहेको छ ।
देउवा समूहको जिल्ला र प्रदेश अधिवेशन हुँदै मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी छ ।
यसरी हेर्दा कांग्रेसका दुई समूहबीचको अन्तर केवल महाधिवेशनको मिति र नेतृत्वको दाबीमा सीमित छैन ।
उनीहरूले महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, संगठनको वैधता र केन्द्रीय नेतृत्व चयन गर्ने प्रक्रियासमेत अलगअलग अघि बढाइरहेका छन् ।
प्रा.डा. राजेश गौतम यो अवस्थालाई दुःखद मान्छन् । यसले कांग्रेसलाई नकारात्मक परिााम मात्रै दिन्छ ।
एउटै पार्टी, दुई महाधिवेशन
कांग्रेस औपचारिक रूपमा विभाजित पार्टी होइन । तर व्यवहारमा भने दुई समूहले अलग–अलग संगठनात्मक गतिविधि सञ्चालन गरिरहेका छन् । ललितपुरको सानेपामा गगन थापा नेतृत्वको केन्द्रीय कार्यालय छ भने देउवा पक्षले चुनदेवीबाट आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ ।
विवादको जरो गत पुसमा सम्पन्न विशेष महाधिवेशनसँग जोडिएको छ । महामन्त्रीका रूपमा रहेका गगन थापाको अगुवाइमा भएको विशेष महाधिवेशनले उनलाई सभापतिमा चयन गरेपछि पार्टीभित्र नेतृत्वको विवाद चर्किएको थियो ।
निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएसँगै कांग्रेस विभाजनको डिलमा पुगेको हो । आयोगको निर्णयलाई सर्वोच्च अदालतले पनि २०८३ वैशाखमा सदर गरेको थियो ।
तर देउवा पक्षले त्यस निर्णयविरुद्ध पुनरावलोकनको प्रक्रिया अघि बढाउँदै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको कार्यकाल मंसिरमा समाप्त हुने तर्क गरेको छ ।
डा. महतले सोही आधारमा महाधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए । सर्वोच्च अदालतमा पुनरावलोकनको विषय अघि बढेको भए पनि त्यसले मात्र यसअघि कायम रहेको आधिकारिकताको निर्णय स्वतः खारेज नगर्ने भएकाले आफूहरूले आह्वान गरेको १५ औं महाधिवेशन सम्पन्न हुने तरखरमा रहेको अर्का कांग्रेस नेता मनोजमणि आर्चाय बताउँछन् ।
प्रा. गौतमका अनुसार यही विवादका कारण कांग्रेसभित्र एउटै नेतृत्व चयन गर्ने प्रक्रिया दुई अलग बाटोमा अघि बढेको हो ।
महाधिवेशन प्रतिनिधि पनि दुईतिर ?
कांग्रेसको महाधिवेशनमा प्रतिनिधि चयनको प्रक्रिया महत्त्वपूर्ण हुन्छ । पार्टीको केन्द्रीय नेतृत्व छान्ने अधिकार महाधिवेशन प्रतिनिधिलाई हुन्छ ।
त्यसैले प्रतिनिधि कसरी चयन भए, कुन सदस्यता सूचीका आधारमा निर्वाचन भयो र अधिवेशनमा कसले भाग लिन पाउने भन्ने विषयले नेतृत्व चयनको वैधतामा प्रत्यक्ष प्रभाव पार्छ ।
थापा नेतृत्वको समूहले आफ्नो महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया अघि बढाएर केन्द्रीय निर्वाचनसम्म आइपुगेको छ । देउवा पक्षले भने आफ्नै अधिवेशनबाट प्रतिनिधि चयन गरेर छुट्टै केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेको छ ।
देउवा पक्षले वडा अधिवेशनका लागि ७ लाख ८३ हजार ८३६ सक्रिय सदस्यको सूची सार्वजनिक गरेको छ । त्यसमा नवीकरण गरिएका ५ लाख ७३ हजार २६९ र नयाँ सदस्यता लिएका २ लाख १० हजार ५६७ सदस्य रहेको बताइएको छ ।
यद्यपि, दुई समूहले प्रयोग गर्ने सदस्यता सूची, प्रतिनिधि चयनको प्रक्रिया र अधिवेशनबाट निर्वाचित हुने संरचनाबीच कति समानता वा भिन्नता छ भन्ने प्रश्न अझै महत्त्वपूर्ण छ । दुई समूहले छुट्टाछुट्टै प्रतिनिधि चयन गरेपछि उनीहरूले छान्ने केन्द्रीय नेतृत्वको राजनीतिक र सांगठनिक दाबी पनि अलग अलग हुने देखिन्छ ।
आन्तरिक लोकतन्त्रको अभ्यास कि संगठनात्मक संकट ?
राजनीतिक दलमा महाधिवेशन नेतृत्व परिवर्तन गर्ने, नीतिगत बहस गर्ने र संगठनलाई नयाँ जनादेश दिने सर्वोच्च अवसर हो । तर कांग्रेसमा अहिले महाधिवेशनको यही प्रक्रियाले पार्टीभित्रको विवादलाई थप स्पष्ट बनाएको छ ।
एउटा समूहले महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरिरहेको छ भने अर्को समूहले आफ्नै महाधिवेशनको तयारी गरिरहेको छ । दुवै पक्षले आ–आफ्नो प्रक्रियालाई वैधानिक र आवश्यक ठानिरहेका छन् ।
देउवा पक्षले १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल र कानुनी विवादलाई आधार बनाएको छ भने थापा पक्षले विशेष महाधिवेशनबाट आएको निर्णय र त्यसलाई आधिकारिकता दिने निकायका निर्णयका आधारमा प्रक्रिया अघि बढाएको छ ।
तर राजनीतिक दलभित्र असहमति हुनु र एउटै पार्टीका दुई समूहले अलगअलग केन्द्रीय महाधिवेशन गर्नु फरक विषय भएको बताउँछन् राजनीतिक विश्लेषक प्राध्यापक पुरुषोत्तम दाहाल ।
उनी भन्छन्, ‘यो आन्तरिक लोकतन्त्रको सामान्य अभ्यास मात्रै होइन यसले संगठनको एकता, निर्णयको स्वीकार्यता र नेतृत्वको वैधानिकतामाथि प्रश्न खडा गर्छ ।’
महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने हो कि पार्टीभित्रको विभाजनलाई संस्थागत गर्ने हो ? भन्ने प्रश्न महत्त्वपूर्ण रहेको दाहालको तर्क छ ।
नेतृत्व कसको, प्रतिनिधि कसका ?
कांग्रेसको विवाद अब सभापति को बन्ने भन्ने प्रश्नमा मात्र सीमित छैन । पार्टीको आधिकारिक नेतृत्व कसले गर्ने, केन्द्रीय कार्यसमितिको निरन्तरता कसरी निर्धारण हुने, प्रतिनिधि चयनको कुन प्रक्रियालाई मान्यता दिने र संगठनको निर्णय कसले कार्यान्वयन गर्ने भन्ने प्रश्न पनि सँगसँगै जोडिएका छन् ।
देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने तयारी अघि बढाएको छ । त्यसै सेरोफरोमा आज महाधिवेशन प्रतिनिधिको निर्वाचन भइरहेको छ । थापा नेतृत्वको समूहले असोजमै महाधिवेशन प्रक्रिया अघि बढाइसकेको छ । आजै केन्द्रीय नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।