कांग्रेसलाई रूपान्तरण गर्न उम्मेदवारी दिएकी हुँ : मृदुला कोइराला

मृदुला कोइराला ।

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक सभापति मातृकाप्रसाद कोइरालाकी छोरी मृदुला कोइरालाले पार्टीलाई रूपान्तरण गर्ने उद्देश्यसहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताएकी छन् ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनस्थलमा भेटिएकी उनले कांग्रेसका लागि महाधिवेशन एउटा ठूलो पर्व भएको बताइन् । 

विकासन्युजसँगको कुराकानीमा उनले ६ वर्षपछि भएको महाधिवेशनमा देशभरबाट हजारौं प्रतिनिधि काठमाडौं आएको उल्लेख गरिन् ।

‘यो ६ वर्षपछि भएको महाधिवेशन हो । कांग्रेसका लागि यो पर्व हो । साढे ७ हजार महाधिवेशन प्रतिनिधि काठमाडौं आउनुभएको छ,’ उनले भनिन् ।

कोइराला परिवारको नेपाली कांग्रेसमा रहेको योगदानबारे चर्चा गर्दै उनले पार्टीलाई स्थापित र चिनाउन परिवारको महत्त्वपूर्ण भूमिका रहेको बताइन् ।

कोइराला परिवारले अघि सारेका सिद्धान्तलाई पार्टीले अहिले पनि आत्मसात् गरेको छ कि छैन भन्ने प्रश्नमा उनले समयअनुसार पार्टीको धारणा परिवर्तन गर्दै जानुपर्ने बताइन् । 

उनले बीपी कोइरालाको सिद्धान्तलाई कांग्रेसका सबै नेता तथा कार्यकर्ताले आत्मसात् गर्दै आएको उल्लेख गरिन् ।

‘बीपीको सिद्धान्त हामी सबैले बोकेर हिँडिरहेका छौं । उहाँ नेपाली कांग्रेसका सबै कार्यकर्ताको आदर्श हुनुहुन्छ,’ उनले भनिन् ।

आफू विद्यार्थी जीवनदेखि नै कांग्रेसमा आबद्ध रहेको बताउँदै मृदुलाले पार्टीमा २०३५ सालदेखि सक्रिय रहेको उल्लेख गरिन् । 

लामो समयदेखि पार्टीमा आबद्ध रहेकाले कांग्रेसलाई रूपान्तरण गर्न सक्ने विश्वासका साथ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको उनको भनाइ छ ।

महाधिवेशनमा कांग्रेसको एउटा खेमा बाहिर रहेको विषयमा उनले पार्टीभित्र मतभिन्नता भए पनि अन्ततः सबै एक ठाउँमा आउने विश्वास व्यक्त गरिन् ।

‘एउटा खेमा बाहिर छ । कांग्रेस ठूलो लोकतान्त्रिक पार्टी हो । सिद्धान्त एउटै हो, झन्डा एउटै हो । पछि सबै मिल्छ होला नि,’ उनले भनिन् ।

Share News