वैदेशिक रोजगार विभागको क्यान्टिनमा लापरबाही, १० हजार जरिवाना

काठमाडौं । वैदेशिक रोजगार विभाग परिसरमा सञ्चालित क्यान्टिनलाई खाद्य स्वच्छतामा लापरबाही गरेको भन्दै १० हजार रुपैयाँ जरिवाना गरिएको छ । 

काठमाडौं महानगरपालिका–३५ स्थित  बिहानी खाजा घरमा भान्साको संरचना अव्यवस्थित रहेको, खाना पकाउने ठाउँ खुला राखिएको र कीट नियन्त्रणको उचित व्यवस्था नभएको पाइएपछि जरिवाना गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, डिभिजन कार्यालय काठमाडौं र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले असोज २१ र २२ गते काठमाडौंका विभिन्न होटल तथा मिठाई पसलमा गरेको अनुगमनका क्रममा यस्तो लापरबाही फेला पारेको हो ।

अनुगमनका क्रममा बिहानी खाजा घरको भान्सा खाद्य स्वच्छताको मापदण्डअनुसार नभएको, एक्जस्ट फ्यान नराखिएको र कच्चा पदार्थ भण्डारण गर्ने स्थानमा कीट नियन्त्रणको पर्याप्त व्यवस्था नभएको पाइएको थियो । खाना पकाउने ठाउँसमेत खुला रहेको अनुगमन टोलीले जनाएको छ ।

खाद्य पदार्थ तार्न प्रयोग गरिएको तेलको टीपीएम मान भने १७ रहेको र मापदण्डअनुकूल पाइएको थियो । तर, भान्साको संरचना तथा सरसफाइसम्बन्धी कमजोरी देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम खाजा घरलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

टोलीले भान्साको संरचना सुधार गर्न, खुला ठाउँ व्यवस्थित गर्न, एक्जस्ट फ्यान जडान गर्न तथा सरसफाइ र कीट नियन्त्रणको उचित व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

त्यस्तै कलंकीस्थित दाजुभाइ स्विट्समा पनि खाद्य स्वच्छतासम्बन्धी कमजोरी भेटिएको छ । असोज २२ गते गरिएको अनुगमनका क्रममा पसलको सरसफाइ सामान्य रहे पनि कीट नियन्त्रणको व्यवस्था प्रभावकारी नभएको, फोहोरदानी खुला राखिएको र पकाइएका केही खाद्य पदार्थ खुला रूपमा भण्डारण गरिएको पाइएको हो ।

अनुगमन टोलीले दाजुभाइ स्विट्सका सञ्चालकलाई सरसफाइमा सुधार गर्न, कीट नियन्त्रण प्रभावकारी बनाउन र पकाइएका खाद्य पदार्थ अनिवार्य रूपमा छोपेर राख्न निर्देशन दिएको छ । 

Share News