काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले बालबालिकाको दृष्टि जोगाउन जन्मेदेखि नै नियमित रूपमा आँखा परीक्षण गराउन आग्रह गरेको छ ।
विश्व दृष्टि दिवस २०२६ को अवसरमा प्रतिष्ठानले बिहीबार विज्ञप्ति जारी गर्दै बालबालिकामा देखिने आँखाका समस्या समयमै पहिचान गरी उपचार गर्न सके दृष्टि जोगाउन सकिने जनाएको हो ।
प्रतिष्ठानका अनुसार विश्वभर कम्तीमा २ अर्ब २० करोड मानिस कुनै न कुनै प्रकारको दृष्टि दुर्बलताबाट प्रभावित छन् । तीमध्ये करिब १ अर्ब व्यक्तिको दृष्टि समस्या रोकथाम गर्न सकिने वा उपचारमार्फत सम्बोधन गर्न सकिने अवस्था रहेको छ ।
सम्बोधन हुन नसकेको दृष्टि दुर्बलता वा अन्धोपन भएका व्यक्तिमध्ये करिब ९० प्रतिशत न्यून तथा मध्यम आय भएका मुलुकमा रहेका छन् ।
नेपालमा कुल जनसंख्याको ०.२८ प्रतिशतमा कुनै न कुनै प्रकारको अन्धोपना रहेको प्रतिष्ठानले जनाएको छ ।
५० वर्षभन्दा माथिको जनसंख्यामा यो दर १.०५ प्रतिशत रहेको छ । पुरुषको तुलनामा महिलामा अन्धोपनको समस्या बढी देखिएको पनि प्रतिष्ठानको भनाइ छ ।
नेपालमा अन्धोपना तथा गम्भीर दृष्टि दोषका प्रमुख कारणमा मोतीविन्दु, दृष्टिदोष, आँखाको नानीमा फुलो पर्ने समस्या, जलविन्दु र मधुमेहका कारण हुने आँखाका रोग रहेका छन् ।
बालबालिकामा पनि कम उमेरमै आँखासम्बन्धी समस्या देखिन थालेको प्रतिष्ठानले जनाएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै दृष्टिदोषका कारण चश्मा प्रयोग गर्नुपर्ने बालबालिकाको संख्या बढिरहेको छ ।
समयअगावै जन्मिएका शिशुमा देखिने रेटिनोपेथी अफ प्रिम्याचुरिटी, आँखाको क्यान्सर, जन्मजात मोतीविन्दु, जलविन्दु लगायतका समस्या पनि बालबालिकामा देखिन सक्ने प्रतिष्ठानले जनाएको छ ।
यी समस्या समयमै पहिचान र उपचार गर्न सके बालबालिकाको दृष्टि जोगाउन सकिने भएकाले नियमित आँखा परीक्षणमा जोड दिइएको छ । प्रतिष्ठानले बच्चा जन्मिएको एक महिनामा, विद्यालय भर्ना गर्नुअघि र त्यसपछि प्रत्येक वर्ष अनिवार्य रूपमा आँखा परीक्षण गराउन अभिभावकलाई आग्रह गरेको छ ।
आँखा रातो हुने, डेढो हुने, धमिलो देख्ने, दुख्ने, लगातार चिप्रा लाग्ने वा आँसु बग्ने, आँखाको आकार सामान्यभन्दा सानो वा ठूलो हुने तथा आँखाको कालो भागमा सेतो देखिने जस्ता समस्या देखिए तत्काल नजिकको आँखा केन्द्र वा अस्पतालमा परीक्षण गराउनसमेत प्रतिष्ठानले अनुरोध गरेको छ ।
त्यसैगरी, आँखामा चोटपटक लागेको, समयअगावै वा कम तौलमा बच्चा जन्मिएको अवस्थामा पनि सकेसम्म छिटो आँखा जाँच गराउनुपर्ने जनाएको छ ।
विश्व दृष्टि दिवसको अवसरमा प्रतिष्ठानले साताव्यापी रूपमा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम र आँखा शिविर सञ्चालन गरेको थियो ।
काठमाडौंसहित देशभरका सामुदायिक आँखा अस्पताल, सर्जिकल आँखा केन्द्र तथा सामुदायिक आँखा केन्द्रमार्फत विद्यालय आँखा परीक्षण शिविर, निजामती कर्मचारीका लागि आँखा परीक्षण, कारागारमा रहेका कैदीबन्दी तथा कर्मचारीका लागि आँखा जाँच र सचेतनामूलक र्यालीलगायत कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।
आँखा परीक्षणपछि आवश्यकताअनुसार निःशुल्क औषधी तथा चश्मा वितरण गर्नुका साथै मोतीविन्दुका बिरामीका लागि निःशुल्क शल्यक्रिया तथा आँखा परीक्षणसमेत गरिएको प्रतिष्ठानले जनाएको छ ।
आँखामा लाग्ने चोटपटक र बालबालिकामा हुने आँखाका समस्याबारे जनचेतना अभिवृद्धि गर्न अडियो–भिडियो तथा अन्य प्रचार सामग्री तयार गरी सामाजिक सञ्जाल र समुदायमा प्रसारण गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।