काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश बासिन्दाले वायु प्रदूषणलाई स्वास्थ्यका लागि गम्भीर जोखिमका रूपमा बुझे पनि आफूले श्वास फेर्ने हावाको गुणस्तरबारे भरपर्दो तथ्यांकमा पहुँच भने कमजोर रहेको एक सर्वेक्षणले देखाएको छ ।
सन् २०२६ मा स्थापना भएको गैरनाफामूलक संस्था ताजा इनिसिएटिभ नेपालले काठमाडौं उपत्यकाका १ हजार २ सय बासिन्दामाझ गरेको सर्वेक्षणले यस्तो देखाएको हो ।
सर्वेक्षणमा सहभागीमध्ये ८१.२ प्रतिशतले उपत्यकाको वायु प्रदूषणलाई स्वास्थ्यका लागि हानिकारकदेखि अत्यन्त हानिकारक रहेको बताएका छन् । तर वायु गुणस्तर जाँच्ने गरेका उत्तरदातामध्ये ९४.१ प्रतिशतले आधिकारिक तथ्यांक वा निगरानी प्रणालीको सट्टा गन्ध, दृश्यता र आँखामा हुने जलनजस्ता आफ्नै इन्द्रियमा निर्भर हुने बताएका छन् ।
सर्वेक्षणअनुसार ५२.३ प्रतिशत बासिन्दाले आफ्नो स्थानीय वायुको गुणस्तर खराबदेखि अति खराब रहेको मूल्यांकन गरेका छन् । सहरी केन्द्रमा यो धारणा अझ बढी देखिएको छ ।
ललितपुरमा ६०.९ प्रतिशत, काठमाडौंमा ५९.२ प्रतिशत र भक्तपुरमा ५६ प्रतिशतले स्थानीय वायुको गुणस्तरलाई नकारात्मक रूपमा मूल्यांकन गरेका छन् । उत्तर काठमाडौंमा भने यस्तो धारणा राख्नेको संख्या ३५.९ प्रतिशत छ ।
वायु गुणस्तर जाँच्ने ज्ञानमा शैक्षिक स्तरअनुसार ठूलो अन्तर देखिएको छ । प्राथमिक शिक्षा वा सोभन्दा कम शिक्षा भएका उत्तरदातामध्ये १०.८ प्रतिशतले मात्र वायु गुणस्तर कसरी जाँच्ने भन्ने थाहा भएको बताएका छन् । स्नातकोत्तर वा सोभन्दा माथिको शैक्षिक योग्यता भएकामा यस्तो दर ६३ प्रतिशत छ ।
युवा पुस्तामा डिजिटल माध्यमबाट वायु गुणस्तर निगरानी गर्ने प्रवृत्ति तुलनात्मक रूपमा बढी भए पनि समग्र पहुँच भने न्यून देखिएको छ । १८ देखि २४ वर्ष उमेर समूहका वायु गुणस्तर सक्रिय रूपमा ट्र्याक गर्ने उत्तरदातामध्ये ६०.३ प्रतिशतले वेबसाइट र ४२.५ प्रतिशतले मोबाइल एप प्रयोग गर्ने बताएका छन् ।
तर वेबसाइट र एप प्रयोग गर्नेको हिस्सा सो उमेर समूहका क्रमशः १४.१ प्रतिशत र १० प्रतिशतमा मात्र सीमित छ ।
सर्वेक्षणले मोटर सवारीसाधन र यातायातबाट निस्कने धुवाँलाई ९८.६ प्रतिशतले वायु प्रदूषणको प्रमुख स्रोत मानेको देखाएको छ । त्यस्तै, ९४.८ प्रतिशतले सडक निर्माणबाट उत्पन्न धुलोलाई वायु प्रदूषणको महत्त्वपूर्ण कारणका रूपमा औंल्याएका छन् ।
वायु प्रदूषण नियन्त्रणका लागि सरकारी तथा संस्थागत उपायप्रति पनि ठूलो जनसमर्थन देखिएको छ । ७९.९ प्रतिशतले सार्वजनिक यातायात विस्तार र विद्युतीय गतिशीलतालाई समर्थन गरेका छन् भने ७१.५ प्रतिशतले कडा धुलो नियन्त्रण तथा सहरी हरियाली प्रवद्र्धनको पक्षमा मत दिएका छन् । तर ७०.४ प्रतिशत उत्तरदाताले वायु प्रदूषण न्यूनीकरणका लागि भइरहेका सरकारी प्रयासप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
व्यक्तिगत तहमा भने प्रदूषणबाट बच्ने उपायको प्रयोग कमजोर देखिएको छ । ८२ प्रतिशतले सर्जिकल मास्क वा स्कार्फ प्रयोग गर्ने बताएका छन् । तर ४३.४ प्रतिशतले वायु प्रदूषणबाट आफूलाई जोगाउन कुनै पनि व्यक्तिगत कदम नचालेको बताएका छन् ।
वायु प्रदूषणले काठमाडौं उपत्यका छाड्ने सोचमा समेत प्रभाव पार्न थालेको सर्वेक्षणले देखाएको छ। उपत्यका छाड्ने विचार गरिरहेका ७.२ प्रतिशत उत्तरदातामध्ये ३९.१ प्रतिशतले खराब वायु गुणस्तरलाई त्यसको कारण बताएका छन् । आर्थिक दबाब र महँगी ४७.८ प्रतिशतसहित पहिलो कारण रहेको छ ।
ताजा इनिसिएटिभ नेपालकी कार्यकारी निर्देशक रोशनी गिरीले सर्वेक्षणले काठमाडौंवासीमा वायु प्रदूषणबारे चासो भए पनि भरपर्दो सूचनामा पहुँचको ठूलो खाडल रहेको देखाएको बताइन् ।
उनका अनुसार पाँचमध्ये चार बासिन्दाले हावा स्वास्थ्यका लागि हानिकारक रहेको स्वीकार गरे पनि अधिकांश मानिस आफूले श्वास फेर्ने हावाको अवस्था बुझ्न वैज्ञानिक तथ्यांकभन्दा आफ्नै इन्द्रियमा निर्भर हुनुपर्ने अवस्था छ । दशमध्ये करिब छ जनालाई प्रदूषणको स्तर कसरी जाँच्ने भन्ने जानकारीसमेत नरहेको उनले बताइन् ।
संस्थाले आगामी चरणमा काठमाडौं उपत्यकामा वायु गुणस्तरसम्बन्धी अनुसन्धान विस्तार गर्ने, सर्वसाधारणका लागि सहज र पहुँचयोग्य डेटा प्लेटफर्म विकास गर्ने तथा वायु गुणस्तरसम्बन्धी साक्षरता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
संस्थाका अनुसार भरपर्दो र बुझ्न सकिने वायु गुणस्तरसम्बन्धी सूचना सर्वसाधारणसम्म पुर्याएर प्रदूषणको वास्तविक अवस्था बुझ्न, सचेत निर्णय लिन र वायु गुणस्तर सुधारका प्रयासमा नागरिकको अर्थपूर्ण सहभागिता बढाउन सहयोग गर्ने लक्ष्य राखिएको छ ।