‘विश्व लगानीकर्ता सप्ताह’ मा ग्लोबल आइएमई क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले ‘विश्व लगानीकर्ता सप्ताह २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

धितोपत्र तथा पुँजी बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रम बुधबार भरतपुर महानगरपालिकास्थित बोस्टन इन्टरनेशनल कलेजमा सञ्चालन गरिएको हो ।

कार्यक्रममा कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागी विद्यार्थीलाई धितोपत्र बजार, सेयर लगानीका आधारभूत सिद्धान्त, जोखिम व्यवस्थापन तथा सुरक्षित लगानीका उपायबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममार्फत विद्यार्थीलाई पुँजी बजारका आधारभूत पक्ष, लगानी गर्दा अपनाउनुपर्ने सावधानी तथा जोखिम पहिचान र व्यवस्थापनका विषयमा जानकारी गराइएको क्यापिटलले जनाएको छ ।

ग्लोबल आइएमई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व र पूँजी बजारको दीगो विकासलाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता वित्तीय साक्षरता तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । 

यस्ता कार्यक्रमले पुँजी बजारसम्बन्धी ज्ञान र सचेतना अभिवृद्धिमा योगदान पुग्ने क्यापिटलको विश्वास छ ।

Share News