काठमाडौं । बुद्ध एयरले धनगढीको एकतर्फी हवाई भाडा १० हजार ८ सय रुपैयाँमै उपलब्ध गराउँदै आएको जनाएको छ ।
बिहीबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै बुद्ध एयरले यस्तो जनाएको हो ।
सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोशप र एआईको प्रयोग गरी तयार पारिएका भ्रामक स्क्रिनसटप्रति कम्पनीले आपत्ति जनाएको हो ।
कम्पनीले तोकेको भाडाभन्दा बढी रकम लिएर टिकट बिक्री गरेको पाइएमा सम्बन्धित व्यक्ति वा ट्राभल एजेन्सीमाथि कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
बाढी–पहिरोका कारण सडक यातायात प्रभावित भएपछि यात्रुलाई सहज र किफायती हवाई सेवा उपलब्ध गराउने उद्देश्यले न्यूनतम भाडादरमा टिकट उपलब्ध गराइएको बुद्ध एयरले जनाएको हो ।
कम्पनीका अनुसार रसुवा क्षेत्रमा आएको महाविनाशकारी बाढी तथा पहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेपछि लामो समयसम्म सडक यातायात अवरुद्ध भएको थियो । त्यसपछि बाटोघाटो सहज नहुन्जेल तथा दशैं र तिहारसम्म न्यूनतम भाडादरमा टिकट उपलब्ध गराउने घोषणा गरिएको थियो ।
बुद्ध एयरले यही व्यवस्थाअनुसार धनगढीका लागि एकतर्फी टिकट १० हजार ८ सय रुपैयाँमा उपलब्ध गराउँदै आएको जनाएको छ ।
न्यूनतम भाडादरका कारण अधिकांश दिनका उडानमा टिकट बिक्री भइसकेको पनि कम्पनीको भनाइ छ ।
बुद्ध एयरले आफ्नो आधिकारिक प्रणाली तथा बिक्री माध्यममा कायम गरिएको भाडादरभन्दा बढी रकम लिएर कुनै व्यक्ति, ट्राभल एजेन्सी वा अन्य माध्यमबाट टिकट बिक्री गरेको पाइएमा त्यस्ता गतिविधिमाथि कडा कदम चालिने पनि स्पष्ट पारेको छ ।
प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही अघि बढाइने कम्पनीले जनाएको छ ।
कम्पनीले यात्रुहरूलाई सामाजिक सञ्जाल वा अन्य अनधिकृत माध्यमबाट फैलाइएका सूचना तथा स्क्रिनसटका आधारमा हवाई भाडाबारे धारणा नबनाउन पनि आग्रह गरेको छ ।
भाडादर तथा टिकटसम्बन्धी आधिकारिक जानकारीका लागि बुद्ध एयरको वेबसाइट, मोबाइल एप तथा आधिकारिक बिक्री माध्यम प्रयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।
