काठमाडौं । अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टो) कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका ३ घर भएका हाल काठमाडौं महानगरपालिका- ३२ बस्ने २२ वर्षीय बिक्की कुमार महतो पक्राउ परेका हुन् ।
काठमाडौं जिल्ला प्रहरी परिसकरा अनुसार बुधबार साँझ माइतीघरस्थित सडकमा शंकास्पद अवस्थामा हिँडिरहेको भेटिएपछि महतोलाई रोकी सोधपुछ तथा जाँच गरेको थियो। जाँचका क्रममा उनले विभिन्न माध्यमबाट अनलाइन सट्टेबाजी तथा जुवा खेल्ने–खेलाउने गरेको थियो।
अमेरिकी डलरसँग सम्बन्धित डिजिटल मुद्रा लगायत अभौतिक मुद्राको कारोबार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा महतोले हालसम्म ३ करोड ३८ लाख ८ हजार ३ सय ५० रुपैयाँ ९१ पैसाभन्दा बढीको कारोबार गरेको खुलेको छ।
प्रहरीले उनको साथबाट एउटा मोबाइल बरामद गरी अभौतिक मुद्रा तथा सट्टेबाजीसम्बन्धी कसुरमा पक्राउ गरेको हो। उनलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।