एमालेले मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने, वडा अधिवेशन २६ गते

काठमाडौं । नेकपा एमालेले आगामी मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । 

बिहीबार (आज) बसेको पार्टी स्थायी कमिटी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

भट्टका अनुसार राष्ट्रिय भेलामा प्रदेश र जिल्ला तहका पदाधिकारीसँगै पालिका अध्यक्ष तथा उपाध्यक्ष, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सहभागी गराइनेछ । 

पार्टीको सांगठनिक अवस्था, आगामी कार्यदिशा तथा तल्लो तहसम्मको संगठन परिचालनका विषयमा भेलामा छलफल हुने बताइएको छ ।

स्थायी कमिटी बैठकले वडा र पालिका तहका अधिवेशनको मिति पनि तय गरेको छ । जसअनुसार मंसिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय भएको भट्टले जानकारी दिए ।

पालिका तथा वडा अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ । यसबाट एमालेले केन्द्रीय तहसँगै स्थानीय र प्रदेश तहका संगठनलाई सक्रिय बनाउने तयारी अघि बढाएको देखिएको छ ।

स्थायी कमिटी बैठकमा केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयलाई प्रत्यायोजन गरेका विभिन्न एजेन्डामाथि समेत छलफल भएको छ । ती विषयमा आवश्यक निर्णय गर्न बैठकलाई निरन्तरता दिइने भएको छ ।

भट्टका अनुसार स्थायी कमिटीको बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्नेछ ।

Share News