पहिलोपटक वरिष्ठ नेताका रूपमा भण्डारी एमाले स्थायी कमिटी बैठकमा सहभागी हुँदै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारी पहिलोपटक वरिष्ठ नेताका रूपमा सहभागी हुने भएकी छन् ।

एमालेको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीलाई पूर्णता दिँदै सबै पदाधिकारीलाई स्थायी कमिटी सदस्य बनाउनुका साथै थप सात नेतालाई मनोनीत गरेपछि आज पहिलोपटक स्थायी कमिटी बैठक बस्न लागेको हो ।

पार्टी प्रचार प्रमुख नीरज आचार्यका अनुसार बैठक दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ ।पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि स्थायी कमिटीको बैठकमा उनको यो पहिलो सहभागिता हुनेछ । राष्ट्रपति पदमा रहँदा पार्टीको सक्रिय राजनीतिबाट अलग रहेकी भण्डारी राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि पुनः एमालेको राजनीतिमा फर्किएकी हुन् ।

केन्द्रीय कमिटीको निर्णयअनुसार स्थायी कमिटीमा पार्टीका सबै पदाधिकारी रहने व्यवस्था गरिएको छ । त्यसबाहेक पूर्ववरिष्ठ नेता ईश्वर पोखरेलसहित प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाङ्फेलाई स्थायी कमिटीमा थप गरिएको छ ।

नयाँ संरचनाअनुसार बस्न लागेको बैठकलाई एमालेको आगामी राजनीतिक तथा संगठनात्मक दिशाका दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ । विशेषगरी पूर्वराष्ट्रपति भण्डारीको पार्टी राजनीतिमा पुनरागमनपछि उनको स्थायी कमिटी सहभागितालाई एमालेभित्र चासोका साथ हेरिएको छ ।

आजको बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठनात्मक विषय तथा पछिल्ला केन्द्रीय कमिटीका निर्णयको कार्यान्वयनलगायत विषयमा छलफल हुने बताइएको छ ।

Share News