काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, वर्षा र केही प्राविधिक समस्याका कारण तीन घण्टा ढिलो गरी मतदान सुरु गर्न लागिएको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनमा सहभागी देशभरका ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।
प्रतिनिधिहरूको सहजताका लागि काठमाडौंका तीन प्रमुख स्थानमा सात वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिएका छन् ।
बागमती प्रदेशका प्रतिनिधिका लागि राष्ट्रिय सभागृहमा मतदान केन्द्र तोकिएको छ । कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिका लागि खुलामञ्चमा मतदानको व्यवस्था गरिएको छ ।
त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिले प्रज्ञा भवनमा पुगेर मतदान गर्नुपर्नेछ ।
मतदानका क्रममा प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न दिइने निर्वाचन समितिले जनाएको छ ।