नेपालका लागि भारतको नयाँ राजदूतमा सुधाकर दलेला प्रस्तावित, नोट भर्वल परराष्ट्र पठाइयो

काठमाडौं । भारत सरकारले नेपालका लागि नयाँ राजदूतका रूपमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई प्रस्ताव गरेको छ । भारतले दलेलाको नियुक्तिको स्वीकृतिका लागि नेपालको परराष्ट्र मन्त्रालयमा नोट भर्वल पठाएको परराष्ट्र स्रोतले जनाएको छ ।

नेपाल सरकारले गृह मन्त्रालय र मन्त्रिपरिषद्बाट औपचारिक प्रक्रिया पूरा गरी सहमति जनाएपछि भारतले राजदूत नियुक्तिका लागि एग्रिमो पठाउनेछ । 

नेपालका लागि भारतका २६औं राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी १ अक्टोबर २०२६ मा स्वदेश फर्किएपछि दलेला नेपालका लागि भारतको २७औं राजदूतका रूपमा आउन लागेका हुन् । 

भारतीय विदेश सेवा (१९९३ ब्याच) का अनुभवी कूटनीतिज्ञ दलेला हाल भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको भूमिकामा कार्यरत छन् । 

इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेका दलेलाले यसअघि सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरिसकेका छन् । 

नेपाल र भुटान मामिलाका विज्ञ मानिने दलेलाले विदेश मन्त्रालयको उत्तर विभागमा निर्देशक र सहसचिवका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् । 

यसका साथै उनले नयाँ दिल्लीस्थित प्रधानमन्त्री कार्यालयमा निर्देशक, वासिङ्टन डीसीस्थित दूतावासमा डेपुटी चिफ अफ मिसन तथा विश्व व्यापार संगठन (डब्लूटीओ) मा भारतको डेपूटी स्थायी प्रतिनिधिका रूपमा समेत काम गरिसकेका छन् ।  

Share News