राहुल र प्रियंका गान्धीविरुद्ध एफआईआर दर्ता

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र प्रियंका गान्धीविरुद्ध दिल्ली प्रहरीले एफआईआर दर्ता गरेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार अनुमति बिना आकाशवाणी भवनमा प्रवेश गरेको आरोपमा उनीहरूविरुद्ध एफआईआर दर्ता गरिएको हो ।

मंगलबार राहुल गान्धीसहित विपक्षी दलका विभिन्न नेताले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै दिल्लीमा प्रदर्शन गरेका थिए । 

मतदाता नामावलीको विवादास्पद विशेष गहन पुनरावलोकन (एसआईआर) को विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा विपक्षी नेताहरू निर्वाचन आयोगको कार्यालयतर्फ जाने प्रयास गरिरहेका थिए । तर सयौं प्रहरी परिचालन गरेर उनीहरूलाई निर्वाचन आयोगको मुख्यालयतर्फ अघि बढ्न रोकिएको थियो ।

यही क्षेत्रको आकाशवाणी भवनमा प्रदर्शनका क्रममा विपक्षी नेताहरू पुगेका थिए । 

अनुमति बिना उक्त भवनमा प्रवेश गरेको आरोपमा राहुल र प्रियंकासहित अन्य व्यक्तिविरुद्ध पनि प्रहरीले एफआईआर दर्ता गरेको बताइएको छ ।

Share News