काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान सुरु हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तालिका सार्वजनिक गरे पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिलो गरी मतदान प्रक्रिया अघि बढाउन लागिएको जनाएको छ ।
महाधिवेशनमा सहभागी देशभरका ७ हजार २५५ जना प्रतिनिधिहरूले आगामी नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।
प्रतिनिधिहरूको सहजताका लागि काठमाडौंका तीन वटा प्रमुख स्थानमा सात वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिका संयोजक खड्काले जानकारी दिएका छन् ।
जसअनुसार बागमती प्रदेशका प्रतिनिधिहरूका लागि राष्ट्रिय सभागृहमा मतदानको व्यवस्था मिलाइएको छ । त्यसैगरी कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका प्रतिनिधिहरूका लागि खुलामञ्चमा मतदान केन्द्र तोकिएको छ ।
गण्डकी र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले भने प्रज्ञा भवनमा पुगेर मतदान गर्नुपर्नेछ । मतदानका क्रममा प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरेपछि मात्र भोट हाल्न दिइने निर्वाचन समितिले जनाएको छ ।