काठमाडौं । सरकारले भूमिसहित तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेसहित विभिन्न ६ वटा निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि, वन तथा विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशहरू जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यसैगरी बैठकले राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस अनुसार १५३ जना पीडितहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति प्रदान गर्नुका साथै काठमाडौंमा पोर्चुगलको महावाणिज्यदूतावास स्थापना गर्न सहमति दिने निर्णय गरेको छ ।
त्यस्तै, मन्त्रिपरिषद्ले नेपाल इन्जिनियरिङ सेवाका नवीनराज सिंह र नेपाल प्रशासन सेवाका चक्रबहादुर बुढालाई सचिव (राजपत्राङ्कित विशिष्ट श्रेणी) पदमा बढुवा गरेको छ भने नेपाल लेखापरीक्षण सेवाका नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ ।