स्क्रब टाइफस नियन्त्रणका लागि मन्त्रालयको समन्वय र निगरानी तीव्र

काठमाडौं । देशका ७४ जिल्लामा स्क्रब टाइफस संक्रमण देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रोगको निगरानी, परीक्षण, उपचार, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा जोखिम सञ्चारका गतिविधि तीव्र बनाएको छ ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२६ को जनवरीदेखि हालसम्म ७४ जिल्लाबाट १० हजार २१० जना स्क्रब टाइफस संक्रमितको विवरण प्राप्त भएको छ । तीमध्ये सात जनाको मृत्यु भएको महाशाखाले पुष्टि गरेको छ ।

संक्रमणको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयअन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले असार महिनादेखि नै सातै प्रदेशका सबै जिल्लाका साथै केही स्थानीय तहका प्रमुख र प्रदेश सचिवसँग स्क्रब टाइफस रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गर्दै आएको छ ।

मन्त्रालयले संक्रमणको अवस्था र प्रवृत्तिको नियमित निगरानीका लागि प्रारम्भिक चेतावनी तथा प्रतिवेदन प्रणाली, रोग निगरानी, प्रकोप प्रतिकार्य व्यवस्थापन तथा विश्लेषण प्रणाली लगायतका रोग निगरानी प्रणालीमार्फत अनुगमन गरिरहेको छ । संक्रमणको जोखिम बढी देखिएका क्षेत्रमा परीक्षण तथा उपचारका लागि आवश्यक सामग्री र औषधिको उपलब्धतासमेत सुनिश्चित गर्ने काम भइरहेको छ ।

स्क्रब टाइफस परीक्षणका लागि आवश्यक द्रुत परीक्षण किट प्रदेश तथा स्थानीय तहमा आवश्यकताका आधारमा पठाइएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा हाल ५ हजार परीक्षण किट बफर स्टकमा राखिएको छ । संक्रमण देखिएका क्षेत्रमा उपचारका लागि आवश्यक एन्टिबायोटिकलगायत औषधिसमेत उपलब्ध गराइएको छ ।

रोगको समयमै पहिचान र प्रभावकारी उपचारका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा पनि मन्त्रालयले जोड दिएको छ । स्क्रब टाइफसको निदान तथा केस व्यवस्थापनसम्बन्धी भर्चुअल तथा प्रत्यक्ष तालिम र अभिमुखीकरण सञ्चालन भइरहेको छ । असार महिनामा मात्रै करिब एक हजार चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम तथा अभिमुखीकरण दिइएको महाशाखाले जनाएको छ ।

मन्त्रालयले रोगसम्बन्धी जनचेतना अभिवृद्धिका लागि राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमार्फत स्क्रब टाइफस रोकथाम तथा नियन्त्रणसम्बन्धी स्वास्थ्य शिक्षा सामग्रीसमेत प्रसारण गरिरहेको छ । 

यससँगै संक्रमण बढी देखिएका क्षेत्रमा नियमित निगरानी, परीक्षण तथा उपचारको पहुँच विस्तार, स्वास्थ्यकर्मीको परिचालन र स्थानीय तहसँगको समन्वयलाई निरन्तरता दिइएको मन्त्रालयले जनाएको छ । 

Share News