देशभर जलन उपचारमा अब एउटै मापदण्ड, चार तहमा सेवा वर्गीकरण

काठमाडौं । सरकारले देशभर जलन भएका बिरामीको उपचारमा एकरूपता कायम गर्न ‘जलनसम्बन्धी राष्ट्रिय उपचार सेवा मापदण्ड’ तयार गरेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत उपचारात्मक सेवा महाशाखाले तयार गरेको मापदण्डले जलनको प्रारम्भिक उपचारदेखि विशेषज्ञ उपचार, बिरामीलाई अन्य स्वास्थ्य संस्थामा पठाउने व्यवस्था, पुनर्स्थापना तथा स्वास्थ्यकर्मीको तालिमसम्मका विषय समेटेको छ ।

मापदण्डले नेपालमा जलन उपचार सेवालाई चार तहमा वर्गीकरण गरेको छ । जसअनुसार पहिलो तहमा आधारभूत जलन सेवा, दोस्रो तहमा सामान्य जलन सेवा, तेस्रो तहमा विशेषज्ञ जलन केन्द्र र चौथो तहमा अति–विशेषज्ञ जलन केन्द्र रहने व्यवस्था गरिएको छ ।

मापदण्डमा स्वास्थ्यकर्मीको तालिमलाई पनि उपचार प्रणालीकै महत्वपूर्ण अंगका रूपमा समेटिएको छ । स्थानीय तह तथा समुदायस्तरमा कार्यरत स्वास्थ्यकर्मीलाई जलनको प्रारम्भिक उपचार, बिरामीको अवस्था पहिचान, शरीरमा तरल पदार्थ व्यवस्थापन, पीडा नियन्त्रण, घाउको उपचार, बिरामीको निगरानी, अभिलेख राख्ने तथा आवश्यकताअनुसार अन्य स्वास्थ्य संस्थामा पठाउने विषयमा तालिम दिनुपर्ने व्यवस्था गरिएको छ ।

उच्च तहको उपचार केन्द्र दुई घण्टाभन्दा बढी दूरीमा रहेको अवस्थामा स्थानीय अस्पतालले जलन भएका बिरामीलाई प्रारम्भिक २४ घण्टासम्म आवश्यक पुनर्जीवन उपचार दिन सक्ने क्षमता विकास गर्नुपर्ने मापदण्डमा उल्लेख छ । तेस्रो र चौथो तहका केन्द्रलाई जलनसम्बन्धी थप विशेषज्ञ तथा उन्नत उपचार र स्वास्थ्यकर्मीको तालिमका लागि समेत जिम्मेवार बनाइएको छ ।

मापदण्डले जलन भएपछि सम्भव भएसम्म चिसो बगिरहेको पानीले ३० मिनेटसम्म जलन भएको भाग चिस्याउन र त्यसपछि सफा कपडा वा घाउ ढाक्ने सामग्रीले ढाक्न सुझाव दिएको छ ।

त्यस्तै, जलन भएको ठाउँमा टुथपेस्ट, माटो, घिउ, तेल, बटर, जडीबुटीको लेप, बरफ वा बरफ पानी प्रयोग नगर्न स्पष्ट रूपमा भनिएको छ ।

जलन भएका सबै बिरामीलाई नियमित रूपमा एन्टिबायोटिक औषधि प्रयोग नगर्न र संक्रमणको स्पष्ट प्रमाण देखिएमा मात्र चिकित्सकीय मूल्यांकनका आधारमा प्रयोग गर्नुपर्ने व्यवस्था पनि मापदण्डमा गरिएको छ ।

मापदण्डले जलन उपचारलाई प्रारम्भिक उपचार, बिरामीको अवस्था स्थिर बनाउने उपचार, विशेषज्ञ उपचार, शल्यक्रिया, संक्रमण नियन्त्रण, पोषण, पुनर्स्थापना, मनोसामाजिक सहयोग तथा अन्य स्वास्थ्य संस्थामा पठाउने व्यवस्थासँग जोडेको छ ।

सरकारले नयाँ मापदण्डमार्फत जलनका बिरामीलाई अवस्थाअनुसार उपयुक्त स्वास्थ्य संस्थामा समयमै उपचार र आवश्यक परे अन्यत्र पठाउने व्यवस्था सुनिश्चित गर्दै देशभर जलन उपचार सेवाको गुणस्तर र एकरूपता कायम गर्ने लक्ष्य लिएको छ ।

Share News