अस्पताल र पीडित पक्षबीच सहमति

चिकित्सकीय लापरवाही नभएको अस्पतालको दाबी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको घटनामा अस्पताल र पीडित पक्षबीच सहमति भएको छ ।

धादिङको गजुरी गाउँपालिका–८ की ३२ वर्षीया रविना तामाङको मृत्युको विषयमा परिवार र अस्पतालबीच छलफल भएपछि सहमति जुटेको अस्पतालका निर्देशक श्रीप्रसाद अधिकारीले जानकारी दिए । 

सहमतिपछि परिवारले रविनाको शव बुझेर लगिसकेको उनले बताए ।

अस्पतालले भने रविनाको मृत्युमा चिकित्सकीय लापरवाही नभएको दाबी गरेको छ । 

निर्देशक अधिकारीका अनुसार शल्यक्रियामार्फत बच्चा जन्माएको करिब १८ घण्टापछि बेडबाट उठाएर ह्विलचेयरमा राख्ने क्रममा रविना अचानक बेहोस भएकी थिइन् । 

तत्काल उपचारको प्रयास गरिए पनि उनको मृत्यु भएको अस्पतालको भनाइ छ ।

null

पीडित परिवार ।

मृतकका आफन्तले भने ह्विलचेयरमा राख्ने क्रममा अर्को ह्विलचेयरसँग ठोक्किँदा रविनालाई चोट लागेको र त्यसपछि उनको अवस्था बिग्रिएको आरोप लगाएका थिए । 

अस्पतालले भने ह्विलचेयर ठोक्किनुलाई मृत्युको कारण मान्न नसकिने जनाएको छ ।

‘डाक्टरको गल्ती देखिएको छैन । ह्विलचेयर ठोक्किएको विषयलाई मृत्युको कारण भनिएको छ, तर त्यसरी ठोक्किँदैमा आधा घण्टा वा एक घण्टाभित्रै मृत्यु हुने होइन,’ निर्देशक अधिकारीले भने ।

अधिकारीका अनुसार शल्यक्रियाको भोलिपल्टसम्म रविना पानी तथा चिया सेवन गर्दै सामान्य अवस्थामा थिइन् । 

उनको रक्तचापसमेत सामान्य रहेको अस्पतालले जनाएको छ । बेहोस हुने क्रममा एकपटक रक्तचाप बढे पनि त्यसपछि सामान्य अवस्थामा आएको अधिकारीले बताए ।

उनका अनुसार बिरामीको अवस्था हेर्दा एम्बोलिजम, हृदयघात वा ब्रेन हेमोरेजमध्ये कुनै कारणले मृत्यु भएको हुन सक्ने चिकित्सकहरूको आशंका थियो । 

यकिन कारण पत्ता लगाउन पोस्टमार्टम गर्न अस्पतालले आग्रह गरे पनि परिवारले नमानेको अधिकारीले बताए ।

‘बिरामी सामान्य अवस्थामा हुनुहुन्थ्यो । उठ्ने क्रममा अचानक बेहोस हुनुभयो । यस्तो अवस्थामा एम्बोलिजम, हार्ट अट्याक वा ब्रेन हेमोरेजमध्ये कुनै कारण हुन सक्छ,’ अधिकारीले भने, ‘त्यसैले पोस्टमार्टम गरौं भनेका थियौं, तर परिवारले मानेन ।’

null

ब्रेन हेमोरेज भएको अवस्थामा अचानक रक्तचाप बढ्न सक्ने भएकाले चिकित्सकहरूले त्यसतर्फ पनि आशंका गरेको उनको भनाइ छ ।

अस्पतालका अनुसार रविनाको शल्यक्रिया वरिष्ठ चिकित्सकबाट गरिएको थियो । उपचार प्रक्रियामा चिकित्सकीय त्रुटि नभएको निर्देशक अधिकारीको दाबी छ ।

घटनापछि क्षतिपूर्तिको विषयसमेत उठेको थियो । तर सरकारी अस्पताल भएकाले अस्पतालले क्षतिपूर्ति दिन नसक्ने र उपचारका क्रममा आवश्यक सहजीकरण तथा सहयोग गर्न सक्ने परिवारलाई जानकारी गराइएको अधिकारीले बताए ।

अधिकारीका अनुसार मृतककी आमाको पनि बच्चा जन्माउने क्रममा यस्तै प्रकृतिको मृत्यु भएको पारिवारिक इतिहासबारे अस्पताललाई जानकारी भएको थियो । 

यसले पनि रविनाको मृत्युको सम्भावित कारणबारे थप चिकित्सकीय आशंका उत्पन्न गरेको उनले बताए ।
 

Share News