खुट्टाजोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया अब नेपालमै

काठमाडौं । खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब ठूलो चीरा फाटेर शल्यक्रिया गराउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालले अत्याधुनिक ‘मिनिमली इन्भेसिभ सर्जरी’ प्रविधिमार्फत खुट्टा तथा एंकलका जटिल शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फुट एन्ड एंकल सर्जन डा. दमन कुमार झाको नेतृत्वमा यो आधुनिक सेवा सञ्चालनमा ल्याइएको हो । 

सेवा विस्तारकै क्रममा डा. झाले नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक ‘एमआईएस ह्यालक्स भल्गस’ (खुट्टाको बूढीऔँलाको हड्डी बाङ्गो हुने समस्या) को सफल शल्यक्रिया समेत गरिसकेका छन् ।

परम्परागत शल्यक्रियामा ठूलो भाग काटेर उपचार गर्नुपर्ने हुन्थ्यो भने एमआईएस प्रविधिमा विशेष खालका आधुनिक उपकरणहरूको प्रयोग गरिन्छ । यस प्रविधिमा साना प्वाल वा अति साना चीरामार्फत शल्यक्रिया सम्पन्न गरिन्छ ।

बिरामीको अवस्था र समस्याको प्रकृति अनुसार यो प्रविधि खुट्टाको बूढीऔँलाको हड्डी सोझ्याउन मात्र नभई खुट्टाको बनोट सम्बन्धी अन्य समस्या सुधार गर्न र जटिल पुनर्निर्माणका लागि समेत प्रयोग गर्न सकिन्छ । 

Share News