नेपाली मौलिक परिकार र आरोग्य पर्यटनलाई चिनाउन होटल एक्स्पो हुँदै

काठमाडौं । होटल संघ नेपालले आगामी जनवरी १६ र १७ अर्थात् २०८३ माघ २ र ३ गते दुईदिने ‘होटल एक्स्पो २०२७’ आयोजना गर्ने भएको छ ।

आतिथ्य दिवसको अवसर पारेर आयोजना गर्न लागिएको एक्स्पोमा नेपालको होटल तथा आतिथ्य उद्योगको अवस्था, योगदान, सम्भावना र चुनौतीबारे राष्ट्रियस्तरमा छलफल तथा बहस गरिने होटल संघ नेपालले जनाएको छ ।

एक्स्पोमा होटल तथा आतिथ्य क्षेत्रमा आवश्यक पर्ने विभिन्न वस्तु तथा सेवाका उत्पादक र आपूर्तिकर्ताका स्टल राखिनेछन् । यसबाट होटल उद्योगसँग सम्बन्धित आपूर्ति शृंखलालाई थप मजबुत बनाउने लक्ष्य संघले लिएको छ ।

एक्स्पोका क्रममा होटल उद्योगले नेपालको अर्थतन्त्र, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा राजस्वमा पुर्याउँदै आएको योगदानलाई उजागर गरिनेछ । साथै, होटल तथा पर्यटन उद्योगले भोगिरहेका चुनौती, आगामी सम्भावना र उद्योग विकासका लागि आवश्यक नीतिगत विषयमा सरोकारवालाबीच छलफल गरिनेछ ।

कार्यक्रमकै अवसरमा ६० वर्षअघि अर्थात् २०२२ सालमा स्थापना भएको होटल संघ नेपालको हीरक जयन्ती समारोहको औपचारिक समापन समेत गरिनेछ । सो अवसरमा नेपालको होटल तथा आतिथ्य क्षेत्रको विकासमा संघ तथा सदस्य होटलहरूले पुर्याएको योगदान प्रस्तुत गरिने संघले जनाएको छ ।

संघले नेपालको होटल तथा पर्यटन उद्योगको वर्तमान अवस्था, सम्भावना र चुनौती समेटिएको वार्षिक विशेष पुस्तक ‘होटल इयर बुक २०२७’ समेत प्रकाशन गर्ने तयारी गरेको छ । पुस्तकमा होटल तथा आतिथ्य उद्योगले राष्ट्रिय अर्थतन्त्र र पर्यटन विकासमा पुर्याएको योगदान तथा आगामी दिनमा उद्योग विकासका लागि आवश्यक विषय समेटिनेछ ।

नेपाल सरकारले सन् २०२७ लाई आरोग्य पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेको सन्दर्भमा एक्स्पोमा आरोग्य पर्यटन प्रवद्र्धनमा होटल उद्योगले पुर्याउन सक्ने योगदानबारे पनि विशेष प्रस्तुति गरिनेछ ।

यसै अवसरमा १०८ प्रकारका जैविक तथा आरोग्यमूलक परम्परागत नेपाली परिकार समेटिएको नेपाल हेरिटेज ‘वेलनेस कुकबुक २०२७’ प्रकाशन गरिनेछ । नेपाली मौलिक खाद्य परम्परा तथा पुर्खाले प्रयोग गर्दै आएका पौष्टिक र आरोग्यमूलक खाद्य सामग्रीलाई आधुनिक आतिथ्य सेवासँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले पुस्तक तयार गर्न लागिएको संघले जनाएको छ ।

यसअघि होटल संघ नेपालको आयोजनामा भएको गुन्द्रुक राष्ट्रिय कार्यशालाबाट प्राप्त सुझाव तथा निष्कर्षलाई समेत समेट्दै गुन्द्रुकको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन र ब्रान्डिङ गर्ने कार्यक्रम अघि बढाइनेछ । होटल तथा रेष्टुरेन्टका खानाका सूचीमा गुन्द्रुकको प्रयोग र प्रवद्र्धन विस्तार गर्ने संघको तयारी  छ।

एक्स्पोमा स्वदेशी तथा विदेशी पाहुनालाई नेपाली रैथाने तथा मौलिक खानाका परिकारमार्फत स्वागत गरिनेछ। नेपाली खानालाई पर्यटन अनुभवको महत्वपूर्ण हिस्सा बनाउँदै अन्तर्राष्ट्रिय पर्यटकमाझ नेपाली खानाको पहिचान स्थापित गर्ने उद्देश्य रहेको संघले जनाएको छ ।

होटल एक्स्पोमार्फत होटल तथा आतिथ्य उद्योगसँग सम्बन्धित व्यवसाय, उत्पादन तथा सेवाको प्रदर्शनीसँगै उद्योग र सरकारबीच सहकार्य, लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, बजार विस्तार तथा अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि नयाँ अवसर सिर्जना हुने संघको विश्वास छ ।

एक्स्पोको व्यवस्थापन तथा समन्वयको जिम्मेवारी इभेन्ट सोलुसन प्रालिले गर्ने होटल संघ नेपालले जनाएको छ ।

संघले होटल एक्स्पो २०२७ लाई नेपालको होटल तथा आतिथ्य उद्योगको योगदान, क्षमता र सम्भावना राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा उजागर गर्ने महत्वपूर्ण मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

Share News