काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डा. डिला संग्रौलाले महिला महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।
संग्रौलाले मंगलबार राष्ट्रिय सभागृह पुगेर महिला महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
कांग्रेसको संशोधित विधानअनुसार तीन महामन्त्रीमध्ये एक पद महिलाका लागि सुनिश्चित गरिएको छ ।
संग्रौला गत पुसमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएकी थिइन् । यसअघि उनी १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् ।
विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिक यात्रा सुरु गरेकी संग्रौलाले नेपाल महिला संघको नेतृत्वसमेत सम्हालिसकेकी छन् । महिला तथा युवा सहभागिता, पार्टी संगठनको सुदृढीकरण र समावेशी नेतृत्वलाई उनले आफ्नो राजनीतिक प्राथमिकताका रूपमा अघि सार्दै आएकी छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता भइरहेको छ । निर्वाचनबाट सभापति, उपसभापति, महामन्त्रीसहित केन्द्रीय नेतृत्व चयन हुनेछ ।