उपसभापति पदमा भुसालसहित ६ जनाले उम्मेदवारी दर्ता गर्दै

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत मंगलबार (आज) नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता हुँदैछ । जसका लागि विभिन्न पदमा नेता तथा महाधिवेशन प्रतिनिधिले उम्मेदवारी दर्ताको तयारी गरेका छन् । 

उम्मेदवारीकाे तयारी गरिरहेका नेताहरूकाे प्राेफाइल हेर्दा उपसभापति पदमा रोचक प्रतिस्पर्धा  हुने देखिएको छ । 

नयाँ कार्यसमितिका लागि उपसभापतिमा हाल उपसभापति रहेकी पुष्पा भुसाल, प्रवक्ता देवराज चालिसे, केन्द्रीय सदस्यहरू डा.मिनेन्द्र रिजाल, मधु आचार्य र चन्द्रकान्त भण्डारीले हालसम्म उम्मेदवारी दिने तयारी गरेका छन् ।

उपसभापति भुसालले सञ्चारमाध्यममार्फत उपसभापतिमा आफ्नो उम्मेदवारी दिने तयारी गरेकी हुन् ।

‘पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै समावेशी प्रतिनिधिलाई नेतृत्वको अवसर दिने महाधिवेशनको सन्देश दिन मैले उम्मेदवारीलाई अवसरको रुपमा लिएकी छ,’ उनले भनिन् ।

यस्तै, संशोधित विधानमा व्यवस्था भएअनुरूप समावेशीताको धारणालाई पार्टीले दीर्घकालसम्म संरक्षण गर्ने उनको भनाइ छ ।

अधिवक्तासमेत रहेकी उनले नेपालको संघीय संसदको प्रतिनिधि सभामा उपसभामुखको जिम्मेवारी समेत निर्वाह गरिसकेकी छिन् ।

प्रवक्ता चालिसे १४ औं महाधिवेशनमा सहमहामन्त्रीको उम्मेदवार थिए । विशेष महाधिवेशनपछि भने चालिसेलाई सभापति गगनकुमार थापाले प्रवक्ताको जिम्मेवारी दिएका हुन् । उक्त जिम्मेवारी सम्हालेका उनी अब भने उपसभापतिका आकांक्षी हुन् । 

‘मैले उपसभापतिमा उम्मेदवारी दिने हो,’ उनले भने, ‘प्रवक्ता भइसकेपछि उपसभापति हुने मेरो चाहना छ । महाधिवेशन प्रतिनिधिहरूले मेरो चाहना पूरा गरिदिनुहुनेछ भने मेरो विश्वास छ,’ विकासन्युजसँग उनले भने । 

गत वर्षको पुसमा भएको विशेष महाधिवेशनयता तटस्थ बसेका डा.रिजालले पनि उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । १५औं महाधिवेशनका लागि भएको एकताको अन्तिम प्रयासमा मात्रै सभापति गगनकुमार थापा पक्षमा समाहित भएका हुन् । 

यसअघिका महाधिवेशनमा भने उनी डा. शेखर कोइराला निकट प्रभावशाली नेता हुन् । 

१४ औं महाधिवेशनमा उनी महामन्त्री पदमा पराजित भएका थिए । उक्त समयमा मन्त्रिपरिषद्को बलियो मानिने रक्षामन्त्री पदबाट राजीनामा समेत दिएका थिए । त्यसमा उनले नैतिकता प्रदर्शन गरेको बताउँदै आएका छन् । 

यस्तै, केन्द्रीय कार्यसम्पादन समिति सदस्य मधु आचार्यले पनि  उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

पार्टीलाई समयअनुकूल रूपान्तरण गर्दै लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धता थप सुदृढ गर्ने उद्देश्यसहित आफूले उपसभापतिमा उम्मेदवारी दिएको आचार्यको दावी छ । 

विशेष महाधिवेशनको तयारीका क्रममा महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलनमा पनि उनले सक्रिय भूमिका निर्वाह  गरेका थिए । 

आचार्य उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका उपप्रमुखसमेत हुन् ।

पार्टीको काभ्रे सभापतिसमेत रहेका आचार्यले पार्टी रूपान्तरणको एजेन्डासहित मेची–महाकाली अभियान सञ्चालन गरेका थिए ।

‘साध्य–समृद्ध मुलुक, खुसी नेपाली’ र ‘साधन–समयअनुकूल विचार बोकेर हिँड्ने पार्टी निर्माण’ को लक्ष्यसहित अर्का  केन्द्रीय सदस्य चन्द्रकान्त भण्डारीले उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

उम्मेदवारी घोषणा गर्दै उनले आफ्नो उम्मेदवारीलाई समयअनुकूल विचार, संगठनको रूपान्तरण र मुलुकको समृद्धिसँग जोडेर अघि बढाउने बताएका छन् ।

भण्डारी १४औं महाधिवेशनमा पनि उपसभापति पदमा उम्मेदवार भएका थिए ।

त्यसैगरी, उद्यमी विनोद चौधरीले पनि उपसभापति पदमा उम्मेदवारी दिएका छन् । उनले समावेशी समूहबाट उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् । 

कांग्रेसले सोमबार बन्दसत्रबाट पारित गरेको विधानअनुरुप उपसभापतिमा पदाधिकारीको संख्या बढाएर एक वरिष्ठ उपसभापतिसहित ४ पुर्याएको छ । वरिष्ठ उपसभापतिसहित चार जना उपसभापति रहनेछन् । 

चार उपसभापतिमा एक महिला अनिवार्य गरिएको छ । उपसभापतिको दुई पदमा खुला तर्फबाट प्रतिस्पर्धा हुनेछ । 
मंगलबारबाट सुरु भएको मनोनयन दर्ता अपराह्न चार बजेसम्म हुनेछ । 

उम्मेदवारीका लागि जसका लागि सात हजार १ सय १४ महाधिवेशन प्रतिनिधिले कांग्रेसको नयाँ कार्यसमिति चयन गर्नेछन् । 

Share News