तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन् ।

सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले उक्त जानकारी दिएका हुन् । विपद्का कारण नाका सञ्चालनमा समस्या आए पनि सरकारले तत्काल सडक तथा पूर्वाधार पुनःस्थापनाका लागि काम गरिरहेको बताए । उनले तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार रहेको भए पनि चिनियाँ पक्षबाट अझै अनुमति प्राप्त नभएको जानकारी दिए ।

उनले भने, ‘रसुवागढी नाका कसरी खुलाउने भन्ने विषयमा पनि हामी लागिरहेका छौँ। अहिले तातोपानी नाकामा नेपाली पक्षलाई कुनै समस्या छैन। तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्षले तत्कालै त्यो बाटो सञ्चालनमा ल्याइसकेको छ। अहिले पनि हामी तयार छौँ।’

मन्त्री लम्सालले रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसको पुनः सञ्चालन गर्न पनि सरकारले योजना बनाइरहेको बताए । नुवाकोटको विदुरलाई ट्रेड सिटी, इन्डस्ट्रियल सिटी र स्याटेलाइट सिटीका रूपमा विकास गर्ने सरकारको योजना रहेको उनको भनाइ छ । त्यसका लागि मास्टर प्लान तयार गर्ने काम अघि बढाउने उनले जानकारी दिए । 

Share News