सिटिजन्स क्यापिटलको १३ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको २०औँ वार्षिक साधारण सभा असोज १९ गते काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायत वित्तीय विवरण पनि सभाले पारित गरेको छ ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ । कम्पनीको नियमावलीअनुसार गरिएको सञ्चालक नियुक्तिलाई पनि सभाले अनुमोदन गरेको छ । 

कम्पनीको अध्यक्षमा राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा सविर बादे श्रेष्ठ रहेका छन् ।

काठमाडौं उपत्यकाबाहिरका लगानीकर्तालाई पूँजी बजारमा सहज पहुँच दिन कम्पनीले सिटिजन्स बैंकका देशभरका विभिन्न शाखामार्फत पनि आफ्ना सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

यसबाट देशका विभिन्न क्षेत्रका लगानीकर्तालाई पूँजी बजार र व्यवस्थित लगानी सेवामा सहज पहुँच पुग्ने कम्पनीको विश्वास छ । साथै, दीर्घकालीन र अनुशासित लगानी संस्कार विकासमा योगदान पुर्याउने कम्पनीको उद्देश्य रहेको जनाएको छ । 

Share News