काठमाडौं । संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका नेता रञ्जीत कर्णले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । असोज १८ गतेदेखि काठमाडौंमा जारी कांग्रेसको १५ औँ महाधिवेशनमा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका नेता कर्णले सोमबार पत्रकार सम्मेलन गरेर महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
कर्णले कांग्रेस कमजोर भएको नभइ, कांग्रेसभित्रको संगठनात्मक ऊर्जा कमजोर भएका निष्कर्ष सुनाए । ‘कांग्रेससँग विचारको इतिहास छैन भन्ने होइन, त्यो विचारलाई अहिलेको पुस्तासँग जोड्ने प्रयास कमजोर भएको हो । कांग्रेससँग नेता छैनन् भन्ने होइन, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने ढोका पर्याप्त खुला छैन, त्यसैले महामन्त्रीको पद माग्न मात्र आएको होइन, कांग्रेसभित्र एउटा नयाँ बहस सुरु गर्न आएको हुँ,’ कर्णले भने ।
नेता कर्णले कांग्रेसको संगठनलाई पुनर्जीवित गर्न, कार्यकर्तालाई अधिकार र जिम्मेवारीसँग जोड्न, नयाँ पुस्तालाई नेतृत्वको साझेदार बनाउन र कांग्रेसलाई जनताको विश्वासको केन्द्रमा पुनः स्थापित गर्न नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको बताए । कर्णले पार्टीभित्रै प्रश्न गरेर समीक्षा गर्ने बेला आएको बताए ।
‘कांग्रेसको सदस्यता किन संख्या मात्र बनिरहेको छ ? कार्यकर्ता किन निर्णयको साझेदार होइन, निर्देशनको पर्खाइमा बस्नुपर्ने अवस्थामा छन्रु नयाँ पुस्ता कांग्रेससँग जोडिन चाहँदा हामीले उसलाई कति ठाउँ दिएका छौँ ? र कांग्रेसको संगठन जनताको जीवनसँग कति जोडिएको छ ? यी सबै प्रश्नको जवाफ बोकेर महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको छु,’ उनले भने ।
महामन्त्री पदका उम्मेदवार कर्णले आफ्नो उम्मेदवारी कुनै व्यक्तिविरुद्ध नभइ प्रवृत्तिविरुद्ध भएको प्रस्ट पारे । उनले बलियो संगठन निर्माण गर्न, विचारमा स्पष्ट, संगठनमा सक्रिय, नेतृत्वमा लोकतान्त्रिक, आचरणमा अनुशासित र जनतासँग जोडिएको विश्वसनीय कांग्रेस निर्माण र कार्यशैली परिवर्तन गर्ने घोषणा गरेका गरेका छन् । महामन्त्री पदमा वर्तमान महामन्त्रीद्वय गुरुराज घिमिरे, प्रदीप पौडेलसहित १० जनाभन्दा बढीले उम्मेदवारी दिने घोषणा गरेका छन् ।