फोटोनले पेप्सीकोलामा नेपालकै ठूलो ईभी कमर्सियल सर्भिस सेन्टर सञ्चालनमा ल्याउँदै

काठमाडौं । एमएडब्लू वृद्धि कमर्सियल भेइकल्स प्रालिले काठमाडौंको पेप्सीकोलामा नेपालकै ठूलो ईभी कमर्सियल सवारीसाधन सर्भिस सेन्टर सञ्चालनमा ल्याउने भएको छ ।

फोटोन ब्रान्डका विभिन्न कमर्सियल सवारीसाधन बिक्री गर्दै आएको कम्पनीले बिक्रीपछिको सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन अत्याधुनिक सुविधासहितको नयाँ सर्भिस सेन्टर निर्माण गरिरहेको जनाएको छ ।

नयाँ सर्भिस सेन्टरमा आधुनिक पूर्वाधार तथा अत्याधुनिक उपकरणको व्यवस्था हुनेछ । फोटोनका अन्तर्राष्ट्रिय संस्थाबाट तालिम प्राप्त दक्ष प्राविधिक तथा इन्जिनियरको टोलीले यहाँबाट सेवा दिने कम्पनीले जनाएको छ ।

सर्भिस सेन्टरबाट फोटोनका सवारीसाधनको नियमित मर्मतसम्भार, ब्याट्री परीक्षण, प्राविधिक जाँच तथा जेन्युइन पार्टपुर्जाको उपलब्धतासहितका सेवा एउटै स्थानबाट प्रदान गरिनेछ । ड्राइभर तथा प्राविधिकका लागि आवश्यक तालिमसमेत सञ्चालन गर्ने योजना कम्पनीको छ ।

फोटोन मोटर नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अनिलकुमार बरालले बिक्रीपछिको गुणस्तरीय सेवा कम्पनीको पहिलो प्राथमिकता रहेको बताए ।

उनका अनुसार सवारीसाधन बिक्री गर्नु मात्र कम्पनीको जिम्मेवारी नभई ग्राहकले आफ्नो सवारीसाधनका लागि गुणस्तरीय सेवा, जेन्युइन पार्ट्स र व्यावसायिक प्राविधिक सहयोग सहज रूपमा पाउन सक्ने वातावरण बनाउनु कम्पनीको उद्देश्य हो ।

नयाँ सर्भिस सेन्टरमा फोटोनका विभिन्न मोडलका सवारीसाधनको निरीक्षण, मर्मतसम्भार तथा प्राविधिक जाँच गर्न सकिनेछ। आवश्यक जेन्युइन पार्टपुर्जा पर्याप्त मात्रामा उपलब्ध गराइने भएकाले मर्मतका क्रममा हुने ढिलाइ कम हुने कम्पनीको अपेक्षा छ। 

कम्पनीका अनुसार फोटोनको हाल नेपालभर २१ वटा सर्भिस सेन्टर तथा सर्भिस टच प्वाइन्ट सञ्चालनमा छन् ।

कम्पनीले सन् २०२६ को अन्त्यसम्म पूर्वदेखि पश्चिम नेपालका प्रमुख मार्गमा प्रत्येक १०० किलोमिटरभित्र फोटोनको टच प्वाइन्ट उपलब्ध गराउने लक्ष्य राखेको छ ।

पेप्सीकोलामा सञ्चालनमा आउन लागेको नयाँ सर्भिस सेन्टरलाई कम्पनीले बिक्रीपछिको सेवा पूर्वाधार विस्तारमा महत्वपूर्ण लगानीका रूपमा लिएको छ। सेन्टर सञ्चालनमा आएपछि काठमाडौं उपत्यकाका फोटोन ग्राहकले थप सहज, छिटो र प्रभावकारी बिक्रीपछिको सेवा पाउने कम्पनीको विश्वास छ ।

Share News