काठमाडौं । नेपालका लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा ‘अपाचे रेस एक्सपेरियन्स’ रेसिङ क्वालिफायर्सको क्षेत्रीय चरण सफलतापूर्वक सम्पन्न गरेको छ ।
स्थानीय डिलर बालाजी अटोमोबाइल्सको सहकार्यमा तिलोत्तमा-५ स्थित श्री गौराङ्ग इजी वे ट्रायल सेन्टरमा आयोजित उक्त प्रतियोगितामा ७६ जना राइडरहरूले उत्साहजनक सहभागिता जनाएका थिए ।
कार्यक्रममा सहभागीहरूलाई पूर्व आरइजीपी नेपाल विजेता सुजन थापा मगर र चार पटककी राष्ट्रिय च्याम्पियन नवाङ मोक्तानले राइडिङ पोस्चर, कर्नरिङ, ब्रेकिङ र भिजन कन्ट्रोल जस्ता रेसिङ प्रविधिबारे व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरेका थिए ।
प्रशिक्षणपश्चात् आयोजित १६० सीसी वर्गको प्रतिस्पर्धात्मक रेसमा धीरज बि.क. ३४.०७ सेकेन्डको समयसहित विजेता बनेका छन् ।
त्यस्तै, अभिषेक पन्थी (३४.६२ सेकेन्ड) प्रथम उपविजेता र अरिक श्रेष्ठ (३४.८७ सेकेन्ड) द्वितीय उपविजेता घोषित भए ।
यी शीर्ष तीन फाइनलिस्टले अब काठमाडौंमा हुने आरइजीपी ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्दै काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराका क्वालिफायर्सहरूसँग प्रतिस्पर्धा गर्नेछन् ।
ग्रान्ड फिनालेका विजेताहरूले भारतको मद्रास इन्टरनेसनल सर्किटमा आयोजना हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्, जसको सम्पूर्ण खर्च जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनीले व्यहोर्नेछन् ।
नेपालमा व्यावसायिक मोटरस्पोट्र्स संस्कृतिको विकास र सीपयुक्त राइडर तयार पार्ने उद्देश्यले जगदम्बा मोटर्सले यस किसिमको राष्ट्रव्यापी अभियान सञ्चालन गरिरहेको छ ।