काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ खुलाउने विषयमा यातायात व्यवस्था विभागले मंगलबार यातायात व्यवसायीसँग छलफल गर्ने भएको छ ।
विभागले मंगलबार बिहान अग्रिम टिकट बुकिङबारे छलफल गर्न सरोकारवालाको बैठक बोलाएको हो । अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्ने भन्ने टुंगो नलाग्दा दसैंमा काठमाडौं बाहिर जाने यात्रु अन्योलमा छन् ।
यद्यपि, केही यातायात कम्पनीले भने अनलाइनमार्फत अग्रिम टिकट बुकिङ सुरु गरिसकेका छन् । केही कम्पनीले टिकट बुकिङ थाले पनि समग्रमा बुकिङ खुल्ने मिति स्पष्ट नहुँदा यात्रुमा अन्योल कायमै छ ।
दशैंमा टिकट नपाउने, बसपार्कमा लामो समय लाइन बस्नुपर्ने र घर जान यात्रुले सास्ती भोग्नुपर्ने समस्या हरेक वर्ष देखिँदै आएको छ । यसपटक अग्रिम टिकट बुकिङलाई व्यवस्थित गर्ने विषयमा विभागले सरोकारवालासँग छलफल गर्न लागेको हो ।
बैठकमा प्रहरी प्रधान कार्यालयको राजमार्ग तथा सुरक्षा महाशाखा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, नेपाल ट्रक यातायात व्यवसायी संघ र ल्होत्से बहुउद्देश्यीय सहकारी संघका प्रतिनिधिलाई बोलाइएको छ ।
बैठकबाट अग्रिम टिकट बुकिङ सुरु गर्ने समय तथा चाडबाडमा यातायात सेवा व्यवस्थापनका विषयमा आवश्यक निर्णय हुने अपेक्षा गरिएको छ ।