तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद

काठमाडौं । सुनसरी प्रहरीले इनरुवा–३, सखुवागाछी चेकपोस्टबाट २ हजार ५ सय ६६ किलो गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङका क्रममा तरकारी (बन्दाकोपी) बोकेको ना.७ ख १८२५ नम्बरको ट्रकबाट उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रमुख एसपी पुष्पराज मल्लका अनुसार गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएकामा चालक धनकुटाका राजु राई र सहचालक सन्दीप राई रहेको सुनसरी प्रहरीले जनाएको छ ।

गाँजासहित तरकारी लोड गरिएको उक्त ट्रक हिलेबाट इनरुवासम्म आइपुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिका आधारमा गाँजा तस्करीको जालो नजिक पुग्ने लक्ष्यसहित अनुसन्धानमा जुटेको एसपी मल्लले बताए । थप अनुसन्धान अघि बढाइएको उनले जानकारी दिएका छन् ।

Share News