काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा भदौ १० गतेयता विपद् व्यवस्थापनका काम निरन्तर भइरहेको बताएका छन् । उनले विपद् व्यवस्थापनमा सरकारले कुनै सम्झौता नगरी उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरिरहेको स्पष्ट पारेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका कामलाई तीव्रता दिइएको बताएका हुन् । बैठकमा गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता थियो ।
मुख्यमन्त्रीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उपलब्ध स्रोत, साधन र जनशक्ति परिचालन गरेर छिटोभन्दा छिटो विपद् व्यवस्थापनको काम सम्पन्न गरिरहेको बताए। उनले विपद् व्यवस्थापनबारे ढुक्क रहन मुख्यमन्त्रीहरूलाई आग्रह गरे ।
प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट भएको क्षतिको अध्ययन गरी व्यवस्थापनको काम अघि बढाइएको बताए । भोटेकोशी बाढीपछि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर खोज, उद्धार, राहत तथा पुनःस्थापनाका काम अघि बढाइएको उनले यसअघि पनि बताएका थिए ।
उनले विपद् जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउन लागेको जानकारी दिए । हिमपहिरोको जोखिम न्यूनीकरणका लागि समेत आवश्यक तयारी र काम भइरहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री शाहले विपद्को समयमा आफ्नो ज्यानको समेत जोखिम मोलेर निरन्तर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति कृतज्ञता व्यक्त गरे ।