काठमाडौं । सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औं महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ तान्जानियातर्फ प्रस्थान गरेका छन् ।
सभामुख अर्याल कतार एयरवेजको क्यूआर ६४५ विमानमार्फत तान्जानियातर्फ प्रस्थान गरेका हुन् ।
उनी कतारको दोहा हुँदै अक्टोबर ५ को बिहान तान्जानियाको किलिमान्जारो अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने जनाइएको छ ।
सभामुख अर्यालसँगै उनकी धर्मपत्नी अम्बिका केसी, प्रतिनिधिसभा सदस्य रविन महत्तो तथा राष्ट्रियसभा सदस्य झक्कु प्रसाद सुवेदी र अञ्जान शाक्य प्रतिनिधिमण्डलमा छन् ।
त्यस्तै, प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डे, सचिव प्रकाश अधिकारी, सहसचिव रेखा उपाध्याय खनाल र सभामुखका निजी सचिव मधु मिजार पनि प्रतिनिधिमण्डलमा सहभागी छन् ।
तान्जानियाको अरुसा सहरमा अक्टोबर ५ देखि ९ सम्म आईपीयूको १५३औँ महासभा आयोजना हुँदैछ । महासभामा विश्वभरका संसद्का प्रतिनिधिहरू सहभागी हुनेछन् ।
महासभाका क्रममा विभिन्न स्थायी समितिका बैठक, गभर्निङ काउन्सिलको बैठक, महासभा, विषयगत छलफल तथा विभिन्न देशका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता हुने जनाइएको छ ।
महासभाको पहिलो दिन एसिया–प्रशान्त समूह तथा महिला सांसदहरूको मञ्चको बैठकसँगै विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता हुनेछ । त्यसक्रममा थाइल्यान्ड, अस्ट्रेलिया र चीनका प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही दिन महासभाको औपचारिक उद्घाटन हुनेछ ।
अक्टोबर ६ मा सभामुख अर्यालले गभर्निङ काउन्सिलको बैठकमा सहभागिता जनाउनेछन् । सोही दिन बेलायतको हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयल नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
सोही दिन लोकतन्त्र तथा मानवअधिकारसम्बन्धी स्थायी समितिमा अपाङ्गता भएका व्यक्तिको अधिकार र सशक्तीकरण प्रवद्र्धनका लागि संसदीय रणनीतिसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ ।
शान्ति तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी स्थायी समितिमा सैन्य क्षेत्रमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोगबाट उत्पन्न चुनौती, शान्ति सुरक्षामा संसद्को भूमिका तथा संसदीय कूटनीति, मध्यस्थता र संवादमार्फत दिगो शान्ति स्थापनाका विषयमा छलफल हुनेछ ।
यसै दिन ‘समावेशिता, विश्वास र सबैका लागि अवसरमार्फत सुशासन अभिवृद्धि तथा समुदायको सशक्तीकरण’ विषयमा महासभाको सामान्य छलफल सुरु हुनेछ । सभामुख अर्यालले तान्जानियामा रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
अक्टोबर ७ मा महासभाको सामान्य छलफललाई निरन्तरता दिइनेछ । संयुक्त राष्ट्रसंघीय मामिलासम्बन्धी स्थायी समितिमा संयुक्त राष्ट्रसंघीय प्रणालीलाई थप प्रतिनिधिमूलक र प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।
त्यस्तै, लोकतन्त्र तथा मानवअधिकारसम्बन्धी स्थायी समितिमा मस्यौदा प्रस्तावलाई अन्तिम रूप दिने तथा दिगो विकाससम्बन्धी समितिमा पर्वतीय तथा समुद्री पारिस्थितिक प्रणालीको संरक्षण र सन् २०३० सम्म ३० प्रतिशत संरक्षण लक्ष्य हासिल गर्न संसदीय नेतृत्वसम्बन्धी विषयमा छलफल हुनेछ ।
शान्ति तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी स्थायी समितिमा द्वन्द्वका समयमा समुद्री सुरक्षा, महत्वपूर्ण पूर्वाधारको संरक्षण, अन्तर्राष्ट्रिय जलमार्ग तथा विश्वव्यापी आर्थिक स्थायित्वमा संसद्को भूमिकाबारे छलफल हुनेछ ।
अक्टोबर ८ मा संयुक्त राष्ट्रसंघीय मामिलासम्बन्धी स्थायी समितिमा द्वन्द्व रोकथाम तथा समाधानका लागि संयुक्त राष्ट्रसंघीय संयन्त्रको भूमिकाबारे छलफल हुनेछ । दिगो विकाससम्बन्धी स्थायी समितिमा एआई र रोजगारीको भविष्य, जलवायु परिवर्तनसम्बन्धी आगामी सम्मेलनका लागि संसदीय बैठकको तयारीलगायतका विषयमा छलफल हुनेछ ।
लोकतन्त्र तथा मानवअधिकारसम्बन्धी समितिले मस्यौदा प्रस्ताव पारित गर्ने कार्यक्रम पनि सोही दिन छ । महासभाको अन्तिम दिन अक्टोबर ९ मा गभर्निङ काउन्सिलको बैठक बस्नेछ । उक्त बैठकमा आईपीयू अध्यक्षको निर्वाचन, सांसदहरूको मानवअधिकारसम्बन्धी विषय तथा विभिन्न बैठकका प्रतिवेदनमाथि छलफल हुनेछ ।
त्यसपछि महासभामा विभिन्न प्रस्ताव पारित गर्ने, स्थायी समितिका प्रतिवेदन प्रस्तुत गर्ने, सामान्य छलफलको निष्कर्ष दस्तावेज पारित गर्ने तथा आईपीयूको विधानमा प्रस्तावित संशोधन अनुमोदन गर्ने कार्यक्रम छ ।
महासभा सम्पन्न भएपछि सभामुख अर्याल नेतृत्वको प्रतिनिधिमण्डल केन्याको राजधानी नैरोबी जानेछ । अक्टोबर १० मा नैरोबीस्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्नुका साथै विभिन्न स्थलको भ्रमण गर्ने कार्यक्रम छ ।
अक्टोबर ११ मा नैरोबीका प्रमुख सांस्कृतिक तथा ऐतिहासिक स्थलको अवलोकन गर्ने कार्यक्रम रहेको छ । अक्टोबर १२ मा केन्याको संसद् भवनमा उपसभामुख तथा सांसद ग्लाडिस जेप्कोसेगी बोससँग शिष्टाचार भेटवार्ता गर्ने तथा संसदीय बजेट कार्यालयसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
केन्या भ्रमण सम्पन्न गरी प्रतिनिधिमण्डल फ्लाई दुबईको उडानमार्फत दुबई हुँदै काठमाडौं फर्किने जनाइएको छ ।