नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहमा पुगे सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन खुलामञ्च पुगेका छन् ।

सत्तारूढ दलका सभापतिसमेत रहेका लामिछाने आइतबार (आज) दिउँसो कांग्रेस महाधिवेशनस्थल पुगेका हुन् ।

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू खुलामञ्चमा भेला भएका छन् ।

लामिछानेसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र रेशमलाल चौधरीलगायत नेताहरू पनि उद्घाटन समारोहमा सहभागी भएका छन् ।

कांग्रेसको १५औं महाधिवेशनमा पार्टीको नयाँ नेतृत्व चयन हुँदैछ । महाधिवेशनलाई कांग्रेसले नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।

महाधिवेशनको उद्घाटनपछि निर्धारित कार्यतालिकाअनुसार बन्दसत्र, उम्मेदवारी दर्ता तथा निर्वाचन प्रक्रिया अघि बढ्नेछ । महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ ।

Share News