काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि बागलुङ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् ।
पौडेल खुलातर्फबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । बागलुङ क्षेत्र नम्बर १ बाट खुलातर्फ प्रताप पौडेलसहित १० जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।
पौडेल पछिल्लो दुई दशकदेखि गगन थापाको राजनीतिक तथा नीतिगत टिममा रहेर काम गर्दै आएका छन् । कांग्रेसले १५औँ महाधिवेशनका लागि गठन गरेको केन्द्रीय निर्देशन समिति र विधान मस्यौदा समितिमा पनि उनी सदस्य–सचिवको जिम्मेवारीमा छन् ।
सार्वजनिक नीति विश्लेषण तथा राजनीतिक गतिविधिमा सक्रिय पौडेल बागलुङको स्थानीय कांग्रेस संगठनसँग पनि जोडिँदै आएका छन् । उनले अंग्रेजी साहित्य, राजनीतिशास्त्र र कानुनमा स्नातकोत्तर गरेका छन् ।
बागलुङ नगरपालिका–१३ पैयुँपाटाका पौडेलले स्कुले जीवनदेखि नै राजनीति सुरु गरेका थिए । धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा नेतृत्वदायी भूमिकामा रहेका उनी नेपाल विद्यार्थी संघ बागलुङको जिल्ला सचिव हुँदै त्रिभुवन विश्वविद्यालयमा समेत विद्यार्थी राजनीतिमा सक्रिय थिए ।
२०६४ सालको संविधानसभा निर्वाचनका बेला गगन थापासहितको सहलेखनमा उनले ‘संविधानसभा र नेपाली कांग्रेस’ पुस्तक लेखेका थिए । संविधान तथा संसदीय मामिलाका विज्ञ सल्लाहकारका रूपमा पनि उनले काम गरेका छन् ।
२०७३ सालमा गगन थापा स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा पौडेल उनका प्रमुख सल्लाहकार थिए । त्यसबेला स्वास्थ्य नीति, स्वास्थ्य प्रणाली, स्वास्थ्य बीमा, जनशक्ति व्यवस्थापन तथा स्वास्थ्यसम्बन्धी कानुन निर्माणलगायतका विषयमा उनले सल्लाहकार टिमको नेतृत्व गरेका थिए ।
कांग्रेसका २०७०, २०७४ र २०७९ सालका निर्वाचन घोषणापत्र निर्माण समितिमा समेत पौडेलले काम गरेका थिए । थापाको नेतृत्वमा अघि बढाइएको ‘प्रोजेक्ट गभर्मेन्ट’को संयोजनसँगै पार्टीको नीति तथा विधान मस्यौदा निर्माणमा पनि उनी सक्रिय रहँदै आएका छन् ।
विभिन्न संसदीय समिति तथा सरकारका नीति र कानुन तर्जुमा कार्यदलमा विज्ञका रूपमा काम गरेका पौडेलले जनस्वास्थ्य ऐनको प्रारम्भिक मस्यौदा, स्वास्थ्य बीमा, एकीकृत स्वास्थ्य पूर्वाधार, विद्यालय नर्सिङ कार्यक्रम र स्वास्थ्य अनुसन्धान रणनीतिलगायतका विषयमा काम गरेका छन् ।
यसअघि कांग्रेसको नीति प्रतिष्ठानमा सदस्यका रूपमा समेत जिम्मेवारी सम्हालेका पौडेल हाल पार्टीको केन्द्रीय कार्यसमितिमा प्रमुख राजनीतिक सल्लाहकार तथा १५औँ महाधिवेशनको केन्द्रीय निर्देशन समिति र विधान मस्यौदा समितिका सदस्य–सचिवका रूपमा कार्यरत छन् ।