काठमाडौं । धनगढीमा घर तथा कार्यालयमै खाना र खाजा पुर्याउने होम डेलिभरी सेवा सुरु भएको छ ।
‘कान्छा दाई’ एपमार्फत आफूलाई मन परेको रेस्टुरेन्टको खाना तथा खाजा घरमै मगाउन सकिने गरी शुक्रबारदेखि सेवा सुरु गरिएको हो ।
सुदूरपश्चिमका लागि ‘कान्छा दाई’को फ्रेन्चाइज मनुश्री मल्टीसर्भिस प्रालिले सञ्चालनमा ल्याएको हो । सेवा सुरु भएको अवसरमा तीन दिनसम्म ग्राहकलाई २० प्रतिशत छुट र निःशुल्क डेलिभरीको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
सुरुवाती चरणमा धनगढीका ब्रेड बक्स, पोटली, वल्र्ड हाउस बेकरी, गौतम फास्ट फुड र हेम फुडलगायत रेस्टुरेन्ट तथा खाद्य व्यवसायबाट खाना तथा खाजा अर्डर गर्न सकिनेछ ।
मनुश्री मल्टीसर्भिसका सञ्चालक दिनेश बोहराका अनुसार रेस्टुरेन्टमा पुगेर खाना खान नसक्ने तथा घर, कार्यालय वा काम गर्ने स्थानमै खाना मगाउन चाहने ग्राहकलाई लक्षित गरी सेवा सुरु गरिएको हो ।
उनका अनुसार ‘कान्छा दाई’ एपमार्फत आफूलाई मन परेको खाना तथा खाजा जुनसुकै समयमा अर्डर गर्न सकिनेछ । अर्डर गरेको केही समयमै ग्राहकले उपलब्ध गराएको स्थानमा खाना पुर्याइनेछ ।
‘कान्छा दाई’ एप एन्ड्रोइड र आईफोन दुवैमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । हाल यो सेवा धनगढीसहित नेपालगन्ज, कोहलपुर, दाङ र जोमसोमलगायतका क्षेत्रमा सञ्चालनमा रहेको छ ।
धनगढीपछि महेन्द्रनगर र अत्तरियामा समेत सेवा विस्तार गर्ने योजना रहेको सञ्चालक बोहराले बताए ।
धनगढीमा यसअघि एपमार्फत विभिन्न रेस्टुरेन्ट तथा खाद्य व्यवसायबाट खाना अर्डर गरी घरमै पुर्याउने सेवा व्यापक रूपमा उपलब्ध थिएन । ‘कान्छा दाई’को सेवा सुरु भएपछि घर, कार्यालय वा आफू रहेको स्थानबाटै खाना तथा खाजा अर्डर गर्न सकिने भएकाले ग्राहकलाई सहज हुने कम्पनीले जनाएको छ ।