काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले ललितपुरको कला, संस्कृति, सम्पदा र नेवारी भाषाको संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्ने बताएका छन् ।
ललितपुरमा शनिबार आयोजित कार्यक्रममा उनले सम्पदा, संस्कृति, मठमन्दिर र भाषाको संरक्षणका लागि राज्यले आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले अग्रजहरूले छाडेर गएका सम्पदा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
आफू सामान्य नागरिक भएकाले स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गर्न आफू सधैँ तयार रहेको उनले बताए । मुलुक निर्माणमा नेवारी समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले स्थानीय समुदायबाट प्राप्त सुझाव र समस्या कानुन निर्माण गर्ने तहसम्म पुर्याउन आफूले प्रयास गर्ने बताए ।
उनले देशको माटो चिनाउन नेवारी र थारू समुदायको महत्वपूर्ण भूमिका रहेको बताए ।
उनले भने, ‘ललितपुर यो संस्कृतिमा, सम्पदामा, मन्दिरमा भगवान्का लागि मात्रै धनी होइन । देश निर्माण गर्नको लागि, सम्पदा जोगाउनको लागि, संस्कृति जोगाउनको लागि, नेवारी भाषालाई जोगाउनको लागि यहाँहरूको ठूलो देन छ । यो देशमा सबैभन्दा बढी माटो कसैले चिनेको छ भने सायद नेवारी समुदाय र थारू समुदाय होला, जसले माटोलाई चिनेको छ । माटोसँगको त्यो सम्बन्ध विस्तार गरेको छ । देश निर्माण गर्नको लागि देशमा पटक–पटक भएका राजनीतिक आन्दोलनहरूमा त्यो गुठी आन्दोलन होला या अन्य कुनै आन्दोलन, त्यसमा पनि नेवारी समुदाय, भ्यालीमा बसोबास गर्नुहुने दाजुभाइ दिदीबहिनीको त्यत्तिकै महत्वपूर्ण योगदान छ ।'
उनले ललितपुरको नेवारी संस्कृति र खानाप्रतिको आफ्नो रुचिसमेत व्यक्त गरे । संग्रहालय तथा सम्पदा अवलोकनका साथै नेवारी खाना खानका लागि ललितपुर जानुपर्ने उनको भनाइ छ ।