काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिले आफ्नो आवास खर्च आफैँ बेहोर्नुपर्ने भएको छ ।
असोज १८ देखि २१ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा देशभरबाट आउने ७ हजारभन्दा बढी प्रतिनिधिको होटल व्यवस्थापनको जिम्मेवारी पार्टीले नलिने भएको हो । आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार जिल्लाबाट निर्वाचित भएर आउने प्रतिनिधिका साथै जनसम्पर्क समिति र भ्रातृ संस्थाबाट सहभागी हुने प्रतिनिधिले होटलको खर्च आफैँ व्यहोर्नुपर्नेछ ।
महाधिवेशनका लागि प्रतिनिधिको आवास व्यवस्थापनमा ठूलो रकम खर्च हुने भएपछि पार्टीले होटलको भाडा प्रत्यक्ष रूपमा व्यहोर्ने व्यवस्था नगरेको धमलाले बताए । प्रतिनिधिले आफ्नो सुविधा र बजेटअनुसार होटल छनोट गरेर बस्नुपर्नेछ ।
यद्यपि महाधिवेशन अवधिभर प्रतिनिधिका लागि बिहान र दिउँसोको भोजनको व्यवस्था भने पार्टीले नै गर्ने भएको छ । यसका लागि छुट्टै व्यवस्थापन गरिएको समितिले जनाएको छ ।
विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट महाधिवेशनमा सहभागी हुन आउने पाहुनाको आवास तथा भोजनको व्यवस्थापन भने कांग्रेसले आफ्नै खर्चमा गर्ने भएको छ । उनीहरूको व्यवस्थापनलाई जिल्लाबाट आउने प्रतिनिधिको भन्दा अलग राखिएको समितिले जनाएको छ ।
महाधिवेशनमा ठूलो संख्यामा प्रतिनिधि सहभागी हुने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा होटल तथा आवासको व्यवस्था मिलाइएको छ। प्रतिनिधिको आवासमा हुने खर्च पार्टीले नबेहोर्ने निर्णयसँगै होटल छनोट र त्यसबाट लाग्ने खर्चको जिम्मेवारी प्रतिनिधिमै रहने भएको छ ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २१ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनमा पार्टीको नयाँ नेतृत्वसहित केन्द्रीय कार्यसमिति चयनका लागि देशभरबाट प्रतिनिधिहरू सहभागी हुँदैछन् ।