काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यले सरकारमा सहभागी दलका सांसदले ‘नुनको सोझो’ गर्ने नाममा सरकारका गलत कामकारबाहीमाथि मौन बस्न नहुने बताएका छन् ।
शुक्रबार (आज) प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै आचार्यले रास्वपाका सांसदहरू सरकारका गलत निर्णय र कामकारबाहीको विरोध गर्न स्वतन्त्र रहेको दाबी गरे ।
सरकारको समर्थनमा रहे पनि गलत विषयलाई गलत भन्नबाट पार्टीका सांसदहरू पछि नहट्ने उनको भनाइ थियो ।
उनले सांसदको जिम्मेवारी सरकारको बचाउ गर्नुमा मात्रै सीमित नहुने उल्लेख गर्दै जनताका पक्षमा सत्य बोल्नु र आवश्यक पर्दा आफ्नै सरकारमाथि प्रश्न उठाउनु पनि राजनीतिक जिम्मेवारी भएको बताए ।
‘नुनको सोझो’ गर्ने नाममा सत्यलाई ढाकछोप गर्ने प्रवृत्तिले अन्ततः राजनीतिक नेतृत्वलाई नै क्षति पुर्याउने उनको तर्क थियो ।
सरकार सही बाटोमा हिँडेको अवस्थामा समर्थन गर्ने र गलत बाटोमा गए सच्याउन दबाब दिने नीति रास्वपाले लिने उनले बताए ।
आचार्यले आफ्नो भनाइ पुष्टि गर्न महाभारतका भीष्मपितामहको प्रसंगसमेत सुनाए । सत्य र असत्य छुट्याउन सक्ने अवस्थामा पनि निर्णायक समयमा सत्यको पक्षमा स्पष्ट रूपमा उभिन नसक्दा त्यसको परिणाम कति गम्भीर हुन सक्छ भन्ने दृष्टान्तका रूपमा उनले भीष्मपितामहलाई प्रस्तुत गरेका थिए ।
उनले राजनीतिक आबद्धता वा सत्तासँगको सम्बन्धका कारण गलत काममाथि प्रश्न उठाउनबाट पछि हट्ने अवस्था आउन नहुने बताए ।
सरकारका कामकारबाहीप्रति सांसदहरूको निगरानी र प्रश्न गर्ने अधिकार लोकतान्त्रिक व्यवस्थाको महत्त्वपूर्ण पक्ष भएको उनको भनाइ थियो ।
आचार्यले रास्वपाका सांसदहरू सरकारका उपलब्धिको पक्षमा बोल्न मात्र नभई कमजोरी र त्रुटिमाथि पनि संसद्मै आवाज उठाउने बताए ।
सरकारलाई आवश्यक सुझाव र दबाब दिने कामलाई पार्टीभित्रको असहमतिका रूपमा नभई सुधारको प्रक्रियाका रूपमा बुझ्नुपर्ने उनको भनाइ थियो ।