स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि गालीगलौज, धाकधम्की र हातपात गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार असोज १४ गते राति करिब १ बजे अस्पतालको आकस्मिक कक्षमा आएका व्यक्तिहरूले ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई गालीगलौज तथा धाकधम्की दिँदै हातपात गरेको सूचना प्राप्त भएको थियो ।

सूचनापछि प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोली अस्पताल पुगेको थियो । चेकजाँचका क्रममा ड्युटीमा रहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको देखिएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–४ बस्ने ४१ वर्षीय रामकुमार बुढाथोकी, २३ वर्षीय आयुष बुढाथोकी र २७ वर्षीय सचिन बुढाथोकी रहेका छन् ।

उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News