काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढीबाट प्रभावित बीमितलाई भुक्तानी लिन आवश्यक कागजात र प्रक्रियामा सहजता अपनाउन जीवन तथा लघुजीवन बीमा कम्पनीलाई निर्देशन दिएको छ ।
प्राधिकरणले शुक्रबार (आज) एक निर्देशन जारी गर्दै जीवन बीमाअन्तर्गतको दाबी भुक्तानी, समर्पण, बीमालेख कर्जा तथा परिपक्वता भुक्तानी लिन आवश्यक कागजात र प्रक्रियामा सहजता अपनाउन जीवन तथा लघुजीवन बीमा कम्पनीलाई निर्देशन दिएको हो ।
गत भदौ १० गते रसुवाको भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित बीमित तथा हकवालाको हितलाई ध्यानमा राख्दै यस्तो व्यवस्था लागू गरेको प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बताए ।
उनका अनुसार बाढीका कारण मृत्यु भएका बीमितको दाबीका लागि निवेदनमा बीमितको नाम, मृत्यु भएको मिति, मृत्युको कारण, बीमालेख नम्बर र दावीकर्तासँगको नाता खुलाउनुपर्नेछ ।
त्यस्तै, दाबीकर्ताले बीमितसँगको नाता प्रमाणित हुने कागजात र आफ्नो परिचय खुल्ने सरकारी निकायबाट जारी परिचयपत्र पेश गर्नुपर्नेछ ।
बीमालेख उपलब्ध नभएको अवस्थामा भने बीमा कम्पनीको अभिलेखमा रहेको प्रतिलिपि बीमालेखलाई आधार मान्न सकिने प्राधिकरणले जनाएको छ ।
बीमितले बीमालेखको प्रतिलिपि माग गरेमा कम्पनीले निःशुल्क उपलब्ध गराउनुपर्नेछ ।
त्यस्तै, बाढी तथा विपद्का कारण मृत्यु वा बेपत्ता भएको प्रमाणित गर्न अधिकारप्राप्त निकाय वा अधिकारीबाट जारी गरिएको बाढी तथा विपदमा परी मृत्यु भएको विवरण वा सिफारिसपत्र, अथवा मृत्युको न्यायिक घोषणा पेश गर्न सकिने व्यवस्था गरिएको छ ।
प्राधिकरणले बाढीका कारण बीमाशुल्क वा बीमालेख कर्जाको नियमित किस्ता तिर्न नसक्ने अवस्था आएमा ६ महिनासम्म ब्याज नलाग्ने गरी मोहलत अवधि थप गर्न पनि बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
बेपत्ता बीमितको हकमा पनि हकवालाबाट मृत्यु दाबी भुक्तानी लिन सकिने व्यवस्था गरिएको छ । त्यसका लागि भविष्यमा बीमित जीवित रहेको प्रमाणित भएमा प्रचलित कानूनबमोजिम हुने कारबाही स्वीकार गर्ने स्वघोषणा वा प्रतिबद्धता लिएर दाबी भुक्तानी गर्न सकिने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले बीमा कम्पनीसँग बीमा सम्बन्धी कागजात (पोलीसी डकेट) नभएको अवस्थामा आवश्यक विवरण प्राप्त गरी अभिलेख अद्यावधिक गर्न र त्यसका लागि सम्बन्धित बीमित तथा अभिकर्ताले कम्पनीलाई सहयोग गर्नसमेत भनेको छ ।