पर्यटन बोर्डले दशैंअघि नै सीईओ पाउँदै, ४३ जनाको आवेदन (सूचीसहित)

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाउने भएको छ ।

सीईओ पदका लागि ४३ जनाले आवेदन दिएको विभागका महाप्रबन्धक रामकृष्ण लामिछानेले विकासन्युजलाई जानकारी दिए ।

उनका अनुसार सीईओ छनौट समितिले आवेदकहरूको निवेदन छानबिन गरिरहेको छ । 

‘हामीले दशैं अगाडिसम्म सीईओ पाउने गरेर काम गरिरहेका छौं,’ उनले विकासन्युजसँग भने, ‘छनौट समितिले जतिसक्दो चाँडो सीईओ दिने गरेर काम गरिरहेको छ ।’

समितिले चाँडै सीईओ नियुक्त गरेर बोर्डका कामलाई द्रुतगतिमा लैजाने उनले उल्लेख गरे ।

सरकारले गत वैशाख १९ गते सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी विभिन्न ११० सार्वजनिक निकायका पदाधिकारी पदमुक्त भएका थिए ।

सरकारको उक्त अध्यादेश जारी भएपछि नेपाल पर्यटन बोर्डका तत्कालीन सीईओ दीपकराज जोशी स्वतः पदमुक्त भएका थिए । पर्यटन बोर्ड पाँच महिनादेखि सीइओविहीन रहेको छ ।

बोर्डमा सीईओ बन्न बोर्डका हालका कर्मचारीदेखि पूर्व कर्मचारीले आवेदन दिएका छन् ।

बोर्डबाटै यसअघिको जेनजी सरकारको मन्त्री बनेकी श्रद्धा श्रेष्ठले समेत आवेदन दिएकी छन् ।  

त्यसैगरी, वरिष्ठ प्रबन्धक तथा अनुसन्धान, योजना तथा अनुगमन विभागका कार्यवाहक निर्देशक लक्ष्मण गौतमले समेत आवेदन दिएका छन् ।

क–कसले आवेदन दिए ?

सीइओ बन्न आवेदन दिनेहरू राजकुमार पाण्डे, अनिल थापा, प्रिती झा, श्री गुरुङ, कृतन अवाल, श्री भट्टराई, खगेश्वर अधिकारी, निरोज कर्माचार्य, इला कुमार श्रेष्ठ, विनोद अर्याल र डा. लेखनाथ भण्डारी रहेका छन् ।

त्यसैगरी, आशुतोष प्रधान, नोजल कोइराला, गीता कुमारी शर्मा, ज्ञानेश्वरप्रसाद सिंह महतो, ज्ञानेन्द्ररत्न तुलाधर, सूर्यबहादुर घिमिरे, हिक्मतसिंह ऐर, उत्तमप्रसाद देवकोटा, प्रमेश केसी, सुरेशसिंह बुढाल, रोहिणीप्रसाद खनाल, युविका भण्डारी, विजय कँडेल, सन्तोष थापा, सुधन सुवेदी, नवीन पोखरेल, सुनिल बालाल, जिनेश काजी सिन्धुराकार, धर्मराज दवाडी, लीलानाथ भण्डारी, अभिषेक बिक्रम शाह, टेकबहादुर महत, सूर्य थपालिया, लक्ष्मण गौतम, सन्तोषविक्रम थापा, प्रज्ञा घिमिरे, उदय भट्टराई, रामचन्द्र सेढाईं, श्रद्धा श्रेष्ठ र राजाराम केसी छन् ।

बोर्डको सूचनाअनुसार सीईओ पदका लागि कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था उल्लेख छ ।

Share News