काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका आन्तरिक मतभेद समाधान गरेर कांग्रेसलाई थप मजबुत बनाउने बताएका छन् । १५औँ महाधिवेशनलाई पार्टीको आन्तरिक एकता सुदृढ गर्ने अवसरका रूपमा अघि बढाउनुपर्ने भन्दै उनले नेता–कार्यकर्तालाई अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी हुन अपिल गरेका छन् ।
देउवा पक्षीय कांग्रेसको वडा अधिवेशन आज बिहीबारबाट सुरु हुँदै छ । वडा अधिवेशन सुरु हुनुअघि सन्देश जारी गर्दै देउवाले महाधिवेशनमार्फत पार्टीभित्रका असमझदारी र मतभेद अन्त्य गरी संगठनलाई थप बलियो बनाउने बताएका हुन् ।
उनले आजदेखि देशभर सुरु हुने वडा अधिवेशनमा विधि र प्रक्रिया पूरा गर्दै हर्षोल्लासका साथ सहभागी हुन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । देउवाले लोकतान्त्रिक गणतन्त्र, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि कांग्रेसले गरेको त्याग, बलिदान र संघर्षलाई थप मजबुत बनाउन १५औँ महाधिवेशन महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
‘नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि गरेका बलिदान, त्याग र संघर्षलाई थप मजबुत बनाउन १५औँ महाधिवेशन हाम्रा लागि निकै महत्त्वपूर्ण छ,’ उनले भनेका छन् ।
देशभरका ६ हजार ७ सय ४३ वडामा सुरु हुने अधिवेशनलाई सफल बनाउन सबै तहका नेता–कार्यकर्तालाई सक्रियतापूर्वक सहभागी हुन पनि उनले आग्रह गरेका छन् ।
देउवाले महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी पार्टीभित्र देखिएका मतभेद समाधान गर्ने अवसरका रूपमा लिनुपर्ने सन्देश दिएका छन् ।
‘पार्टीभित्रको मतभेद १५औँ महाधिवेशनमार्फत समाधान गरेर पार्टीलाई अझ मजबुत बनाउने प्रण गरेका छौँ,’ देउवाले आफ्नो सन्देशमा भनेका छन् ।
वडा अधिवेशनसँगै कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक प्रक्रिया आजबाट सुरु हुँदै छ । वडा तहबाट निर्वाचित प्रतिनिधिहरू क्रमशः पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनको प्रक्रियामा सहभागी हुनेछन् ।
