काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले असोज १६ गते चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।
संघीय संसद्को चालु अधिवेशन गत वैशाख २८ गतेदेखि सुरु भएको थियो । त्यसयता अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेटसँगै विभिन्न अध्यादेश प्रतिस्थापन गर्ने विधेयक पारित तथा प्रमाणीकरण गरेको थियो ।
यस्तै, वैकल्पिक वित्त परिचालन विधेयक तथा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने विधेयक पनि पारित तथा प्रमाणीकरण भएका छन् ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकसमेत प्रमाणीकरण भएको छ ।