म्यानमारको रखाइनमा हवाई हमला, ४९ जनाको मृत्यु

काठमाडौं । म्यानमारको रखाइन राज्यको क्याउक्ताव सहरमा भएको हवाई हमलामा परी मृत्यु हुनेको ४९ पुगेको छ ।

अराकान आर्मी (एए) का अनुसार हमलामा करिब ६० जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

बीबीसी न्युज बर्मिजका अनुसार स्थानीय स्रोतहरूले भग्नावशेषबाट शव निकाल्ने काम जारी रहेकाले मृतकको संख्या ५८ सम्म पुग्न सक्ने दाबी गरेका छन् ।

क्याउक्तावस्थित किस्सापनादी पुल क्षेत्र र भारतीय बजार आसपासमा हवाई हमला भएको बताइएको छ ।

अराकान आर्मीले हमलाका लागि म्यानमारको सेनालाई जिम्मेवार ठहर गर्दै निन्दा गरेको छ । साथै उसले जवाफी कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

यता, सेना समर्थक टेलिग्राम च्यानलहरूले भने मारिनेहरू अराकान आर्मीका सदस्य रहेको दाबी गरेका छन् । यी दाबीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।

यो घटना पछिल्ला केही महिनामा रखाइन राज्यमा सर्वसाधारणमाथि भएका सबैभन्दा घातक हमलामध्ये एक मानिएको छ ।

Share News