काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको सहरी यातायात प्रणालीसम्बन्धी गुरुयोजनाको रणनीतिक वातावरणीय मूल्याङ्कन (एसईए) प्रतिवेदन तयार गर्ने भएको छ ।
पूर्वाधार विकास मन्त्रालयले जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको प्राविधिक सहयोगमा ‘काठमाडौं उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना’ को रणनीतिक वातावरणीय मूल्याङ्कन प्रतिवेदन तयार गर्न लागेको हो ।
मन्त्रालयका अनुसार ‘जीवन्त र सांस्कृतिक काठमाडौं उपत्यकाका लागि दिगो, सुरक्षित र समावेशी यातायात’को उद्देश्यसहित गुरुयोजना तयार भइरहेको छ । गुरुयोजनाले उपत्यकाको जनसङ्ख्या वृद्धि, पूर्वाधार र बढ्दो सवारी चापलाई आधार बनाएर भविष्यमा आवश्यक योजना तथा नीति निर्माणका लागि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।
गुरुयोजनाबाट काठमाडौं उपत्यकाको सवारी चाप व्यवस्थापन, सार्वजनिक यातायात प्रणालीको सुदृढीकरण तथा दिगो सहरी यातायात प्रणाली विकासमा सहयोग पुग्ने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले ३० दिनभित्र गुरुयोजनाको रणनीतिक वातावरणीय मूल्याङ्कनको मस्यौदा प्रतिवेदनमाथि राय–सुझाव उपलब्ध गराउन सरोकारवालालाई आग्रह गरेको छ । राय–सुझाव पूर्वाधार विकास मन्त्रालय, सिंहदरबार, काठमाडौंमा वा मन्त्रालयको इमेलमार्फत पठाउन सकिनेछ । प्रतिवेदन मन्त्रालयको आधिकारिक वेबसाइटमा समेत राखिएको मन्त्रालयले जनाएको छ ।