काठमाडौं । अविरल वर्षासँगै आएको बाढी-पहिरोका कारण नेपाल-चीन व्यापार प्रभावित बनेको छ । चीनसँग व्यापारका लागि प्रयोग हुँदै आएका तीन प्रमुख नाका तातोपानी, रसुवागढी र कोरला-मध्ये सञ्चालनमा रहेको कोरला नाका पनि सडक अवरुद्ध भएपछि ठप्प बनेको हो । तातोपानी र रसुवागढी नाका यसअघि नै सञ्चालनमा थिएनन् ।
पछिल्लो समय मुस्ताङतर्फ जाने सडकका विभिन्न स्थानमा पहिरो खसेपछि कोरला नाका बन्द भएको हो । जसकारण चीनबाट नेपालतर्फ हुने सामानको आयात तथा नेपालबाट चीनतर्फ हुने निर्यात प्रभावित भएको छ ।
कोरला भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भन्सार नाका भने सञ्चालनका लागि तयार रहे पनि नाकासम्म पुग्ने सडक बन्द हुँदा सवारीसाधन आवतजावत गर्न सकेका छैनन् ।
‘हाम्रो नाका चलेको छ । हामी काम गरिरहेका छौं । तर बाटो बन्द भएकाले गाडी आउन-जान सकेका छैनन्,’ उनले विकासन्युजसँग भने, ‘बाटो खुलेपछि सवारीसाधनको आवागमन सुरु हुन्छ ।’
अहिले भन्सार पास १ सयभन्दा बढी मालवाहक गाडी र कन्टेनर भन्सारमै रोकिएका चुडालले बताए ।
अहिले मुख्य रूपमा बेनी-जोमसोम-कोरला सडक र बेंसीसहर-मनाङ सडकखण्ड अवरुद्ध रहेको सडक विभागका प्रवक्ता शुभराज न्यौपाने बताउँछन् ।
यी दुई सडकबाहेक अधिकांश प्रमुख सडक सञ्चालनमा आइसकेको उनको भनाइ छ ।
उनका अनुसार बीपी राजमार्ग तथा पृथ्वी राजमार्गका प्रभावित खण्डहरू सञ्चालनमा आइसकेका छन् । तर मुस्ताङ र मनाङ जोड्ने सडकमा अझै समस्या छ ।
‘बेनी-जोमसो-कोरला सडक ब्लक छ र बेंसीसहरदेखि मनाङ जाने सडक पनि ब्लक छ,’ न्यौपानेले विकासन्युसँगको कुराकानीमा भने, ‘त्यसबाहेक अरू सडकहरू सञ्चालनमा छन् ।’
विभागका अनुसार मुस्ताङ जोड्ने सडक करिब दुई दिनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । मनाङतर्फको सडक भने थप समय लाग्ने देखिएको छ ।
कोरला नाका मुस्ताङ हुँदै जाने भएकाले मुस्ताङ जोड्ने सडक खुलेपछि कोरला नाकातर्फको आवागमन पनि सहज हुने विभागको भनाइ छ ।
यद्यपि बाढीपहिरोका कारण कति पुल तथा सडक संरचनामा क्षति पुगेको छ भन्ने विस्तृत विवरण भने संकलन भइरहेको विभागले जनाएको छ ।
तीनै नाका बन्द हुँदा व्यापारमा असर
नेपाल-चीन व्यापारका लागि प्रयोग हुने तातोपानी, रसुवागढी र कोरला गरी तीन प्रमुख नाका छन् । तर अहिले तीनै नाका प्रभावकारी रूपमा सञ्चालनमा नहुँदा नेपाल-चीन व्यापारमा प्रत्यक्ष असर परेको छ ।
भन्सार विभागका अनुसार सुरुमा नेपाली भूभागमा पहिरो गएपछि साउनको अन्त्यतिरदेखि नै चीनसँगको व्यापार प्रभावित हुन थालेको थियो । त्यसपछि चिनियाँ पक्षबाट समेत नाका रोकिएको विभागको भनाइ छ ।
तातोपानी नाका कहिलेसम्म सञ्चालनमा आउँछ भन्ने अझै यकिन नभएको विभागले जनाएको छ । नाका बन्द हुनुको कारण पूर्वाधारसँग सम्बन्धित हो वा अन्य कुनै कारणले हो भन्ने विषयमा समेत स्पष्ट जानकारी आइसकेको छैन ।
नेपालले नाका सञ्चालन र व्यापार सहज बनाउने विषयमा परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग छलफल गरिरहेको भन्सार विभागले जनाएको छ ।
तातोपानी नाका सञ्चालन गर्न लबिङ
तातोपानी नाकालाई सञ्चालन गर्ने उद्देश्यले सरकारको उच्चस्तरीय प्रतिनिधि मण्डलले स्थलगत निरीक्षण तथा संयुक्त अनुगमन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सहसचिवको नेतृत्वमा गएको उक्त टोलीले चिनियाँ पक्षसँग छलफल गर्दै सीमा क्षेत्रमा देखिएका समस्या र राजमार्गको भौतिक अवस्थाका बारेमा गम्भीर ध्यानाकर्षण गराएको छ ।
परराष्ट्र, अर्थ र पूर्वाधार विकास मन्त्रालयसहित सडक विभाग तथा सडक डिभिजन चरीकोटका अधिकारीहरू सम्मिलित टोलीले सिन्धुपाल्चोकका सुरक्षा निकाय र प्रशासनका प्रतिनिधिहरूसँग समन्वय गरी नाकाको वर्तमान अवस्थाबारे जानकारी लिएको मन्त्रालयको भनाइ छ ।
यसैगरी, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार नाका सञ्चालनका लागि परराष्ट्र र अर्थ मन्त्रालय तहमा छलफल हुनुका साथै चिनियाँ पक्षसँग पनि निरन्तर समन्वय भइरहेको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव र नेपालस्थित चिनियाँ दूतावासको प्रतिनिधिमण्डलसहितको टोलीले अरनिको राजमार्ग तथा नाका क्षेत्रको स्थलगत अनुगमन र निरीक्षण गरेको प्रजिअ घिमिरे विकासन्युजसँग बताउँछन् ।
अनुगमनका क्रममा चिनियाँ पक्ष नाका सञ्चालनका विषयमा सकारात्मक रहेको उनले बताए । बर्खाका कारण नाका प्रभावित भए पनि हाल वर्षा रोकिएकाले पहिरो हटेर सडक खुलाउन सके कन्टेनर तथा मालवाहक सवारी साधनहरू सहजै आउजाउ गर्न सक्ने अवस्था रहेको उनको भनाइ छ ।
हाल नाकाबाट सर्वसाधारणको पैदल आवतजावत जारी रहे पनि व्यापारिक कन्टेनर तथा सामानको आयात-निर्यात भने ठप्प रहेको छ । चाडपर्व नजिकिँदै गर्दा नाका कहिलेसम्म पूर्ण रूपमा खुल्छ भन्ने निश्चित भइनसके पनि कुटनीतिक पहलपछि चाँडै सञ्चालनमा आउने बताएको छ ।
अनुगमनका क्रममा विशेष गरी नाकासम्म पुग्ने राजमार्गको भौतिक दुरावस्था र सञ्चालनमा रहेका प्राविधिक कठिनाइहरूको सूक्ष्म विश्लेषण गरिएको भने स्थलगत अध्ययनपछि टोलीले सडकको खराब अवस्थाका कारण नाका सञ्चालनमा दीर्घकालीन अवरोध आउन नदिने र द्विपक्षीय आपूर्ति प्रणालीलाई सहज बनाउने निष्कर्ष निकालेको छ ।
नेपाली पक्षले चिनियाँ प्रतिनिधिहरूसँग सीमा नाकालाई थप गतिशील बनाउन तथा दुई देशबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउन आवश्यक पूर्वाधार सुधारमा सहकार्य गर्न आग्रह गरेको छ ।
नेपाली पक्षको आग्रहपछि सीमा क्षेत्रको सडक मर्मत तथा सुधारका लागि तत्काल काम अघि बढाउने र नाका सञ्चालनमा देखिएका व्यावहारिक जटि लताहरू समाधान गर्ने विषयमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ । साथै स्थानीय प्रशासनले पनि नाकाको सुरक्षा र व्यवस्थापनका लागि पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता जनाएको छ ।
तातोपानी र रसुवागढीबाट नेपाल आउने सामानसमेत वैकल्पिक रूपमा मुस्ताङतर्फ डाइभर्ट हुन थालेपछि पछिल्लो समय कोरला नाकामा चाप बढ्दै गएको थियो । तर अहिले कोरला पुग्ने सडक नै अवरुद्ध भएपछि उक्त वैकल्पिक मार्गसमेत प्रभावित भएको छ ।
सबै नाका बन्द हुँदा अटोमोबाइल व्यवसायीहरू गम्भीर समस्यामा परेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्वअध्यक्ष तथा अटो व्यवसायी ध्रुव थापाले चाडपर्वको मुखमा नाका बन्द हुनुले व्यवसायमा ठूलो धक्का पुगेको बताउँछन् ।
विशेष गरी चीनबाट गाडी तथा अटोमोबाइलका सामाग्री आयात गर्ने व्यवसायीहरू यतिबेला निकै असहज परिस्थितिबाट गुज्रिरहेको थापाको भनाइ छ ।
‘दशैं र तिहार अटोमोबाइल क्षेत्रका लागि सबैभन्दा बढी व्यापार हुने समय हो,’ थापाले विकासन्युजसँग भने, ‘वर्षभरिको कुल बिक्रीको करिब ४० प्रतिशत गाडी तथा सवारी साधनहरू यही समयमा बुकिङ र डेलिभरी हुने गर्छ। तर, मुख्य नाकाहरू नै बन्द हुँदा उपभोक्तालाई समयमै गाडी उपलब्ध गराउन कठिन भएको छ ।’
अहिले तीनवटै नाकाहरू पहिरो तथा बाटो अवरुद्ध भएका कारण सञ्चालनमा आउन सकेका छैनन् । म्याग्दी र मुस्ताङ खण्डमा बाटो बगाएका कारण कोरला नाकासमेत प्रभावित भएको छ ।
सरकारले अलिकति तदारुकता र सक्रियता देखाएमा कोरला नाका हप्ता-दश दिनभित्रै सञ्चालनमा ल्याउन सकिने सम्भावना रहेको उनले बताए । ‘स्थानीय तहको प्रयासले मात्र यो सम्भव छैन, सङ्घीय सरकारले नै विशेष ध्यान दिएर बाटो मर्मत र नाका सञ्चालनमा तदारुकता देखाउनुपर्छ,’ उनले भने ।
त्यसैगरी, कूटनीतिक पहल मार्फत तातोपानी नाकालाई पनि तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउन सरकारसँग माग गरिएको छ । एउटा मात्र नाकामा निर्भर रहँदा यस्ता विपद्का बेला विकल्पविहीन हुनुपर्ने बाध्यता सिर्जना भएको भन्दै थापाले कूटनीतिक सक्रियता बढाएर दुवै नाका सहज बनाउनुपर्नेमा जोड दिए ।
यसले चीनबाट नेपाल आउने वस्तुको आपूर्ति प्रणालीमा समेत असर पार्ने देखिएको छ । दशैं-तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा चीनबाट आयात हुने वस्तुको आपूर्ति प्रभावित भए त्यसको असर बजारसम्म पर्न सक्ने व्यवसायीहरूको चिन्ता छ ।
यसबीच सडक विभागले भने अवरुद्ध सडक खुलाउने काम तीव्र रूपमा भइरहेको जनाएको छ । मुस्ताङ जोड्ने सडक दुई दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि निरन्तर वर्षा र थप पहिरोको जोखिमका कारण सडक पूर्णरूपमा सुरक्षित रूपमा सञ्चालन गर्न चुनौती रहेको विभागको भनाइ छ ।
यसैबीच अविरल वर्षाका कारण केही दिनदेखि पूर्णरूपमा बन्द रहेको कान्ति लोकपथ पनि आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।
असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षाका कारण सडकका विभिन्न खण्डमा क्षति पुगेपछि काठमाडौं–हेटौँडा जोड्ने छोटो मार्ग अवरुद्ध भएको थियो । वर्षाका कारण सडकका विभिन्न स्थानमा ठूला पहिरो खसेपछि यातायात सेवा ठप्प भएको थियो ।
सडक अवरुद्ध भएपछि सडक डिभिजन कार्यालयले प्राविधिक टोली तथा उपकरण परिचालन गरी पहिरो पन्छाउने काम थालेको थियो । लामो प्रयासपछि सडकलाई हालका लागि एकतर्फी सवारी सञ्चालन गर्न मिल्ने अवस्थामा पुर्याइएको हो ।
तर सडकका विभिन्न भाग अझै जोखिमपूर्ण अवस्थामा रहेकाले सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ । पूर्ण क्षमतामा दुईतर्फी यातायात सञ्चालनका लागि भने थप मर्मत तथा सुधारको काम भइरहेको छ ।
यसरी लगातारको वर्षा र बाढी-पहिरोका कारण मुलुकका विभिन्न सडक तथा व्यापारिक नाका प्रभावित हुँदा आन्तरिक यातायातदेखि चीनसँगको अन्तर्राष्ट्रिय व्यापारसम्म असर परेको छ ।
यो पनि पढ्नुहोस् :