काठमाडौं । हालैको अविरल वर्षा र बाढी-पहिरोका कारण देशका विभिन्न जलविद्युत् आयोजना तथा प्रसारण र वितरण प्रणालीमा ठूलो क्षति पुग्दा देशभर गरी कुल १ हजार २९२ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ ।
असोज ९ गतेदेखिको वर्षाका कारण सुरक्षाका दृष्टिले बन्द अर्थात् फोर्स सटडाउन गरिएका आयोजनाहरू पानीको बहाव घट्नासाथ धमाधम पुनः सञ्चालनमा आउन थालेका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा मस्र्याङ्दी करिडोरका १९० मेगावाट र सेती/मादी करिडोरका २६२ मेगावाटका आयोजनाहरू सञ्चालनमा आइसकेको जानकारी दिए ।
साथै, देशकै ठूलोमध्येको १४४ मेगावाटको कालीगण्डकी ‘ए’ को प्राविधिक परीक्षण सकिएर सञ्चालनको तयारीमा रहेको र राहुघाट आयोजना सफाइ गरी सञ्चालन गर्न करिब १० दिन लाग्ने बताइएको छ ।
प्रसारणलाइनमा पुगेको क्षतिका कारण अझै २३० मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन । कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनका टावर ढाल्दा नीलगिरि-१, नीलगिरि-२ र मिस्त्रीखोलासहित ७ वटा आयोजनाको १९० मेगावाट विद्युत् रोकिएको छ भने गत भदौ १० गतेको बाढीले माथिल्लो त्रिशूली ३ ‘बी’ प्रसारणलाइनमा पुर्याएको क्षतिका कारण रसुवा-त्रिशूली करिडोरका ४३०.८ मेगावाट विद्युत् बन्द नै छ ।
यस क्षेत्रमा प्राधिकरण र उसका सहायक कम्पनीहरूको मात्रै करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । यद्यपि, अधिकांश जिल्लामा विद्युत् आपूर्ति पुनःसञ्चालन भइसकेको र मनाङमा भोलिसम्म बत्ती बल्ने प्राधिकरणले जनाएको छ ।
हाल पिक समयको माग धान्न भारतका विभिन्न सीमा बिन्दुहरूबाट २५१.४ मेगावाट आकस्मिक विद्युत् आयात भइरहेको छ । प्राधिकरणले आगामी हिउँद (पुस २०८३ देखि वैशाख २०८४) मा पर्याप्त बिजुली आयात गरेर लोडसेडिङ हुन नदिने विस्तृत कार्ययोजनासमेत सार्वजनिक गरेको छ ।
मंसिरसम्ममा कुल जडित क्षमता ४ हजार ६० मेगावाट पुग्ने भए पनि सुख्खायाममा आन्तरिक उत्पादन घटेर १ हजार २१८ मेगावाटमा खुम्चिने अनुमान छ । उक्त अभाव पूर्ति गर्न ढल्केबर–मुजफ्फरपुर, बिहार-उत्तर प्रदेश सीमा बिन्दु, द्विपक्षीय आरटीसी सम्झौता र टनकपुर-महेन्द्रनगर लाइनमार्फत भारतबाट कुल १ हजार १५४.८० मेगावाट विद्युत् आयात गरिनेछ ।
यसबाट सुख्खायाममा कुल विद्युत् उपलब्धता २ हजार ३७२ मेगावाट पुग्नेछ, जुन गत वर्षको उच्चतम माग (२ हजार २९२ मेगावाट) भन्दा बढी भएकाले हिउँदमा नागरिक तथा उद्योगहरूले लोडसेडिङ भोग्नु नपर्ने कार्यकारी निर्देशक श्रेष्ठले स्पष्ट पारेका छन् ।