हर्मुज खोल्ने इरानको प्रस्ताव, ट्रम्पले गरे ठाडै अस्वीकार

काठमाडौं । इरानले सात दिनको प्रस्तावित योजनाअन्तर्गत छैटौं दिनमा हर्मुज जलडमरूमध्य पुनः खोल्ने र सातौं दिनमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने प्रस्ताव गरेको छ । 

तर, सुरुमा नै प्रतिबन्ध हटाउनुपर्ने र रोक्का गरिएका आफ्ना सम्पत्तिमा पहुँच दिनुपर्ने शर्त राखेपछि अमेरिकाले उक्त प्रस्ताव अस्वीकार गरेको छ ।

इरानका विदेशमन्त्री अब्बास अराग्चीले अमेरिकाले संघर्ष अन्त्य गर्ने, नाकाबन्दी हटाउने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने र इरानलाई तेल बिक्री गर्न अनुमति दिने हो भने तेहरान होर्मुज जलडमरूमध्य खोल्न तयार रहेको बताएका छन् ।

अराघचीले आइतबार एनबीसीको ‘मिट द प्रेस’ कार्यक्रममा इरानको प्रस्ताव स्पष्ट रहेको बताएका हुन्। उनका अनुसार अमेरिकाले आवश्यक केही कदम चाल्ने हो भने इरान हर्मुज जलडमरूमध्य खोल्न तयार छ ।

‘गैरकानुनी रूपमा रोक्का गरिएका हाम्रो पैसा र सम्पत्ति फुकुवा गरिनुपर्छ । हामीलाई तेल बिक्री गर्न पनि अनुमति दिनुपर्छ,’ उनले भने । आफूहरूले माग गरेका कदम चारदेखि पाँच दिनमै पूरा गर्न सकिने उनको दाबी छ ।

अराग्चीका अनुसार इरानले सात दिनको योजना अघि सारेको हो। योजनाअनुसार छैटौं दिनमा होर्मुज जलडमरूमध्य खोल्ने र सातौं दिनमा बृहत् सम्झौताका लागि वार्ता सुरु गर्ने प्रस्ताव गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको प्रस्ताव अस्वीकार गरेका छन् । उनले जलडमरूमध्य तत्काल खोलिनुपर्ने बताएका छन् ।

ट्रम्पले इरानले आफूहरू नराम्रोसँग पराजित भइरहेको अवस्थामा सम्झौता गर्न खोजेको दाबी गर्दै अमेरिकाले ठूलो सफलता हासिल गरिरहेको बताएका छन् । उनले हर्मुज जलडमरूमध्यमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दाबीसमेत गरेका छन् ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले पनि इरानको प्रस्तावमा वास्तविक वार्ता सुरु हुनुअघि नै अमेरिकासँग धेरै ठूला सहुलियत मागिएको बताएका छन् ।

सीएनएनको ‘स्टेट अफ द युनियन’ कार्यक्रममा वाल्ट्जले इरानले सुरुमै अमेरिका र संयुक्त राष्ट्रसंघका प्रतिबन्धमा राहत तथा अर्बौं डलर बराबरका रोक्का गरिएका इरानी सम्पत्तिमा पुनः पहुँच मागेको बताए ।

उनका अनुसार इरानले सुरुमै सबै कुरा मागेर त्यसपछि मात्र वार्ता गर्ने प्रस्ताव गरेको थियो । वाल्ट्जले इरानमाथि अन्तर्राष्ट्रिय पानीजहाजमा आक्रमण गरेर यसअघि भएको समझदारीको उल्लंघन गरेको आरोपसमेत लगाए ।

तेहरानले भने अमेरिकी आरोप अस्वीकार गर्दै यसअघि भएका सम्झौता अमेरिकाले नै उल्लंघन गरेको दाबी गरेको छ ।

वाल्ट्जले अमेरिकी राष्ट्रपति ट्रम्पलाई इरान वास्तविक नियतका साथ वार्तामा आउँछ भन्ने विश्वास नरहेको बताएका छन् । उनका अनुसार इरानको आणविक कार्यक्रम अन्त्य गर्ने विषयमा सार्थक वार्ता गर्न सकिनेमा पनि अमेरिकालाई आशंका छ ।

तर, अराग्चीले ट्रम्पले सार्वजनिक रूपमा प्रस्ताव अस्वीकार गरे पनि इरानले मध्यस्थमार्फत अमेरिकाको औपचारिक जवाफ अझै पर्खिरहेको बताएका छन् ।

‘हामी कूटनीतिका लागि तयार छौं । अहिले वार्ताको टेबलमा अत्यन्तै उचित योजना छ । यदि उनीहरूले कुनै कारणबिना यसलाई अस्वीकार गर्छन् भने त्यसको जिम्मेवारी उनीहरूकै हुनेछ,’ उनले भने ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियनले पनि सीबीएसको ‘फेस द नेसन’ कार्यक्रममा तेहरान यसअघि भएको समझदारीको आधारमा चरणबद्ध रूपमा अघि बढ्न तयार रहेको बताएका छन् ।

उनले इरानले गर्ने प्रतिबद्धता पूरा गर्ने दाबी गर्दै आणविक कार्यक्रममाथि केही सीमा र अन्तर्राष्ट्रिय निरीक्षणका विषयमा समेत वार्ता गर्न सकिने संकेत दिएका छन् ।

पेजेस्कियनका अनुसार आणविक अप्रसार सन्धि (एनपीटी) र अन्य विद्यमान अन्तर्राष्ट्रिय नियमको दायराभित्र रहेर यी विषयमा सहमति गर्न सकिन्छ ।

अराग्चीले इरान पुनः सैन्य संघर्ष सुरु भए त्यसको सामना गर्न तयार रहेको बताएका छन् । यद्यपि, उनले कूटनीतिक बाटो भने खुला रहेको स्पष्ट पारेका छन् ।

‘यदि युद्ध पुनः सुरु भयो भने हामी त्यसका लागि पूर्ण रूपमा तयार छौं  तर, हामी कूटनीतिका लागि पनि तयार छौं । अब राष्ट्रपति ट्रम्पले निर्णय गर्नुपर्छ,’ उनले भने ।

Share News